तुलसीपुरमा मेयर पदका उम्मेदवारले यसो भने

तुलसीपुर, १० असार ।
विभिन्न दलहरुबाट तुलसीपुरको प्रमुखका उमेदवारहरुले जनतासँग गरेका प्रतिबद्धता पूर्ण रुपमा कार्यान्वयन गर्ने बताएका छन् । तुलसीपुर नगर जेसिजले आज तुलसीपुरमा आयोजना गरेको सवाल जवाफ कार्यक्रममा ५ दल र १ स्वतन्त्रका मेयरका उमेदवारले मतदातासँग गरेका प्रतिबद्धता पूरा गर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्ने मेयरका उमेदवारहरुले तुलसीपुरको समग्र विकासका लागि निरन्तर लागिरहने प्रतिबद्धता ब्यक्त गरेका थिए । जेसिजका अध्यक्ष विमल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका मेयरका उमेदवार गेहेन्द्र गिरीले आफूले जनतासँग पूरा हुने कुरा मात्रै बोलेको भन्दै ती सबै गरेर छाड्ने बताउनु भयो । सहभागीले तुलसीपुरको शान्ती शुरक्षालाई जोडेर उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले एमाले नेता मदन भण्डारीको हत्या भएको २० बर्ष हुँदा पनि दोषी पत्ता नलागेकाले हेमराज धिताल र रत्न वलीको हत्या तथा राजकुमार श्रेष्ठ बेपत्ताको बिषय सामान्य भएको बताउनु भयो ।

पूर्व सांसद र सरकारको नेतृत्व गरेको पार्टीका नेता समेत रहेका गिरीले तुलसीपुरमा शुरक्षा ब्यवस्था मिलाउने, अपराधीलाई कानुनी कठघारामा ल्याउने प्रतिबद्धा गर्नुको सट्टा घटनालाई अन्तै जोडेर सामान्यकरण गरेको प्रति प्रश्नकर्ता र कार्यक्रमका सहभागी नै असन्तुष्ट बनेका थिए । सहभागीले सोही बिषयलाई जोडेर पुनः प्रश्न गर्न खोजेपनि पाँचवटा मात्र प्रश्न राख्न पाइने आयोजकको नियमका कारण सहभागीले पुनः प्रश्न गर्न पाएनन् ।

त्यस्तै नेकपा एमालेका मेयरका उमेदवार घनश्याम पाण्डेयले अशुरक्षित र दुर्गन्धीत तुलसीपुरलाई पाँच बर्ष भित्र सफा र सुगन्धीत नगर बनाउने प्रतिबद्धतालाई आफूले जिते पूरा गरेरै छाड्ने बताउनु भयो । उहाँले टरिगाउँको विमानस्थललाई ३÷४ महिना भित्रै सञ्चालनमा ल्याउने बताउनु भयो ।

जेसिजका महासचिव दिपेश भण्डारीको सञ्चालनबाट सुरु भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका मेयरका उमेदवार शेषुराम भण्डारीले आफूले ठूला सपना नबाँडेपनि जनताका आधारभूत आवश्यकता पूरा गर्ने बताउनु भयो । उहाँले आगामी पाँच बर्ष भित्र तुलसीपुरमा कोहीपनि घरबाट बिहिन हुनु नपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका मेयरका उमेदवार शुक्रराज भण्डारीले नगरलाई ब्यवस्थित बनाउन आफ्नो उमेदवारी भएको बताउनुभयो । अव्यवस्थित बसोबासका कारण यहाँका धेरै समस्या समाधान गर्न कठिन भएकाले पनि पहिलो काम नगरलाई ब्यस्थित गर्ने आफ्नो योजना भएको बताउनुभयो ।

कार्यक्रममा नयाँ शक्तिका मेयरका उमेदवार जीवन भण्डारीले अरु पार्टी र उनीहरुले उठाएका एजेण्डा पूराना भएकाले अफ नयाँ शक्तिको विकल्प नभएको बताउनुभयो । स्वतन्त्रबाट मेयरका यमेदवार हंसराज केसीले ठूला भन्ने दलहरुले बाड्ने पैसा र आश्वासनको पछि नलागी योग्य उमेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।

तुलसीपुरको पुष्पलाल चोकमा भएको कार्यक्रममा सहभागीहरुले उमेदवारलाई प्रश्न राखेका थिए । कार्यक्रममा मोहन स्वर्णकारले जेसिज आस्था पाठ र कार्यक्रम संयोजक मानबहादुर बस्नेतले स्वागत मन्तब्य राख्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ असार १० गते शनिवार
प्रतिक्रिया