तुलसीपुरको भविष्य

सपनाको आयतन कति हुन्छ होला ? गणितिय आयतन निकालेर परीक्षामा टिक पाएजस्तो आयतनलाई सिमिततामा कैद गर्न सकिन्छ होला ? सपना चुइगम जस्तै त हो नि जति तन्कायो तन्किदै जाने अनि मुखमा राख्यो भने सधै गुपचुप वसिरहने । सपनादेख्ने मान्छे धेरै हुन्छन् तर त्यही सपनाका कारण राम्रोसँग निदाउन नसक्ने मान्छे भने संसारमा निकै कम हुन्छन् । अनि तिनै सपनाले निदाउन नदिनेहरु नै सफलताको शिखरमा पुगेर उचाईको आनन्द लिन्छन् । घनश्याम पाण्डे त्यस्तै व्यक्तिहुन् जसलाई सपनाले पछ्याएर आँखाराता हुनेगरि कहिल्यै पनि सुत्न दिएन । सपनाको आधाचाङ माथि उभिएर उनले भने “सपना पुरा गर्नका लागि सपना देख्न पनि जान्नुपर्छ, धेरै मान्छेहरुको जीवन के सपना देख्ने होला भन्ने थाहै नपाएर सकिन्छ । ”
पहिलो जनआन्दोलनको उत्कर्षका दिनहरु थिए । कम्युनिष्ट भन्ने वित्तिकै काँग्रेसहरु मारपिटमा उत्रन्थे । डर र त्रासले कतिपय मानिसहरु मनमा उर्लिएको क्रान्तिकारी विचार मारेर पनि कतिपय मान्छेहरु काँग्रेसकै कोटीमा आफुलाई उभ्याउथे । भ्युडहर सुनपुरको स्कुलमा ८ कक्षा पढ्दै गर्दा घनश्याम पाण्डेको मनले ज्यादती सहन सकेन । उनी खुलेरै कम्युनिष्टको वकालत मात्रै गरेनन् अनेरास्ववियुको नेतृत्व समेत सम्हाले । स्कुलमा स्काउट, रेडक्रस हरेक संस्थाको संयोजक पाण्डे नै हुन्थे । कुनै पनि स्कुलमा खुल्ने संस्थामा उनको नाम सवै साथीहरुले पहिलो पंक्तिमा राख्थे । उनलाई नेतृत्वको रहर मनमा सधै पलाइरहन्थ्यो । कम्युनिष्ट देख्नै नरुचाउने काँग्रेसहरुले उनलाई त्यतिवेला निकै सास्ती पनि दिए । सास्तीले उनको विचारलाई शक्ति दियो ।
पढाइमा सधै अब्बल पाण्डेले राजनीति र पढाईलाई एउटै बाटोबाट अगाडि वढाए । एउटा हातमा किताव बोके अर्को हातमा झन्डा । उनले भविष्य र विचारको लडाई एउटै मोर्चाबाट लडे । २०४३ सालमा स्कुल पढ्दा देखि नै उनी आन्दोलनको मोर्चामा सधै सामेल रहेर काम गरे । २०४६ सालको जनआन्दोलनमा उनका कलिला हातहरुले पञ्चायतको कडा प्रतिरोध गरे । स्कुले जीवनकै समयमा उनी अनेरास्ववियु दाङको जिल्ला कमिटी सदस्य भएर जिम्मेवारी निर्वाह गरे । देश वदल्ने सपना आँखामा टाँसेर उनले सधै विचारको लडाइ लडे । एकाध अवरोध पनि आए उनी झनै गतिवान वने ।
पढाइसँगै राजनीतिको मोर्चामा पनि अगाडि वढ्दै गएको उनी २०४७ सालमा १६ वर्षकै “प्रेमिकाको अँगालोमा ” रमाउने उमेरमा नेकपा एमाले दाङ को साधारण सदस्य वने र पाटी र विचारलाई अँगालो हाले । त्यतीवेला सदस्यता पाउनु सानोतिनो हिमाल चढे जस्तै हुन्थ्यो ।
दाङवाट प्रथम श्रेणीमा एसएलसी उत्तिर्ण गरेर पाण्डे पढाइको मोर्चा सम्हाल्न पाल्पा पुगे । विज्ञान पढ्नका लागि त्यतिवेला पाल्पा नै दङालीहरुको गन्तव्य थियो । माटोमा पाखुरा वजारेर जीवन निर्वाह गर्ने किसान परिवारका पाण्डेलाई पाल्पामा वसेर पढ्न सहज थिएन । उनले दुखका सानासाना कणहरु भोगेर पढाइलाई प्राण दिए । त्रिभुवन वहुमुखि क्याम्पस पाल्पामा आइएस्सी पढ्दै गर्दा प्रारम्भीक कमिटीको सदस्य हुदै अध्यक्ष सम्म वनेका पाण्डे विएस्सी पढ्दै गर्दा स्ववियुको उपसभापति समेत वने ।
यस विचमा उनको जीवनमा एउटा रमाइलो घटना पनि छ । उनले भने “आइएस्सीको परीक्षा दिएर दाङ आएपछि सल्यानको रिममा सरकारी स्कुलमा पढाउन थाले , कम्युनिष्ट विचार राख्ने भएकाले मैले विद्यालय समयका अतिरिक्त त्यहाँका जनतालाई कम्युनिष्टका वारेमा वुझाउन थाले । काँग्रेसको वाहुल्यता भएको समयमा कसैलाई पनि त्यो पचेन, चौमासिक पैसा हात भरि राखेर मलाई अचानक मौखिक विदा गरियो ” उनी विचलित भएनन्, पुनः पाल्पा दौडिए । उनको पढाइको यात्राले फेरि प्राण पायो ।
पाल्पाको पढाइको विश्रामसँगै पाण्डे जीवनको मेलो समाउन दाङ आए । उनीसँग त्यतिवेला सम्म सामान्य चक घोटेर जीवन चलाउने सपना मात्रै थियो । दङाली कम्युनिष्ट आन्दोलनका नेता श्रीमणी आचार्यले उनलाई पढाउने मेलो मिलाइदिए उरहरीको चन्द्रोदय स्कुलमा । त्यहाँ पनि उनको मन वसेन । “जव सिकर होइन , क्रेटर वन्नुपर्छ भन्ने सोच मेरो मनमा सधै आउथ्यो , यसले पनि मलाई पढाउन जाँगर लागेन ” उनले आफै जागिरको सृजना गर्नका लागि केही साथी जम्मा गरेर विद्यालय समेत सञ्चालन गरे । तुलसीपुरमा तुलसी, राप्ती र भानु स्कुलको वोलबाला थियो । उनलाई पनि चुनौतिका विचमा सम्भावना खोज्न मन लाग्यो । दाङ भ्याली वोर्डिङ स्कुलको संस्थापकका रुपमा शिक्षण गरेका पाण्डेलाई वोर्डिङमा चक घोटिरहेको वेलामा अचानक तुलसीपुरको उप मेयरमा चुनाव लड्ने प्रस्ताव आयो । २३ वर्षको कलिलो उमेर भएपनि व्यावहारिक चापले उनलाई परिपक्व वनाएको थियो । उनले प्रस्ताव स्विकार मात्रै गरेनन् नेपालकै सवैभन्दा कम उमेरमा उपमेयर हुने व्यक्तिका रुपमा इतिहास समेत लेखे । जनताको प्रतिनिधिका रुपमा उनले सबैलाई खुसी राखेर काम गरे । धेरै चुनौतिका विचमा उपमेयर भएका उनले तुलसीपुरमा केही नयाँ कामको समेत थालनी गरे । शहरकेन्द्रीत बजेटलाई गाउँगाउँसम्म पुर्याउने कार्यको थालनी, तरकारी बजारको उचित व्यवस्थापन, पशु वधशालाको व्यवस्थापन, सडकवत्ति जडान, फोहर व्यवस्थापका लागि डम्पिङ साइडको धारणाको विकास, नगरपालिकाको हालको भवन निर्माण, टोल विकास संस्थाको गठनको सुरुवात र तुलसीपुरको मुख्य लाइनमा ग्रिन वेल्टको निर्माण जस्ता कामहरु उनले उपमेयर रहेका वखत गरेका यहाँका उल्लेखनिय कामहरु हुन् ।
उनी उपमेयर भएकै वखत नेपालमा सामुदायिक वनको अवधारणा सरकारले भर्खरै ल्याएको थियो । विश्व जगत त झन् यसका वारेमा अनभिज्ञ जस्तै थियो । उनले सामुदायिक वनको निती मात्रै वनाएनन् त्यसको कार्यान्वयनमा पनि ज्यान दिएर लागे । सबैका लागि नयाँ जस्तो लाग्ने वन र वातावरणको मुद्दाले उनलाई तान्यो । सामुदायिक वनको आन्दोलनमा उनी सामेल भए । वौद्धिक र तार्किक क्षमताले निपुण पाण्डे सोही व्यक्तित्वका कारण २०५८ मा सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रीय सदस्य वने अनि २०६३ मा केन्द्रीय अध्यक्ष समेत वन्न सफल भए ।
सामुदायिक वनका मुद्दा विश्वसामु स्थापना गर्न मात्रै होइन यसका बारेमा गहिरो जानकारी राख्ने व्यक्तिका रुपमा पाण्डेले संसारैभर परिचयको दायरा फराकिलो पारे । उनले सामुदायिक वनमा पाएको जिम्मेवारीसँगै दोश्रो जनआन्दोलनमा पनि उनले राजधानीमै रहेर निरन्तर आन्दोलनमा सक्रियता र कुशल नेतृत्व देखाइरहे । आन्दोलनका क्रममा करिब १ महिना उनले जेल जीवन समेत भोगे ।
सामुदायिक वनकै मुद्दालाई लिएर उनले संयुक्त राष्ट्रसंघको महासभामा विश्वका वनविज्ञहरुका सामु नेपालको सफलता सुनाएर दँगदास मात्रै पारेनन् उनीहरुलाई पनि सामुदायिक वनको अवधारणमा अगाडी वढ्न प्र्रेरणा समेत दिए । संसारले सामुदायिक वन नवुझेको वेला उनले वुझाउने काम गरे । महासभामा सामुदायिक वनका वारेमा मन्तव्य दिने पाण्डे दक्षिण एसियाकै पहिलो व्यक्ति समेत हुन् । उनले महासभामा उठाएको मुद्दाका हरियो सिग्नल देखाउदै संयुक्त राष्ट्रसंघले जनताका लागि वन भन्ने नारा सहित वन दिवसलाई अन्तर्राष्ट्रिय मान्यता समेत दियो , जसलाई अहिले विश्वभर मनाइने गरिन्छ । सामुदायिक वनको अवधारणा वोकेर पाण्डे सातै महाद्धिपका ५० वटै देश फन्किसकेका छन् । कुनै दिन अमेरिका जाँदा भिसा नदिएर विभिन्न देशबाट फन्किदै त्यहाँ पुगेका पाण्डेलाई पछिल्लो समय बाराक ओबामाको सपथ ग्रहणमा त्यहाँको प्रतिष्ठीत संस्थाले निमन्त्रणा समेत दिएर उनी त्यहाँ गए ।
नेपालमा दोश्रो जन आन्दोलन धिमा गतिमा अगाडी वढिरहेको थियो । नेपालभरका लाखौ सामुदायिक वनका उपभोक्तालाई आन्दोलनमा सरिक गराउन सके आन्दोलनको आँधीवेहरी आउने सोच पाण्डेको मनमा खेलिरहन्थ्यो । राजनीतिक दलहरु आन्दोलनमा खुलेर लाग्न नसेकेको अवस्थामा उनले लोकतन्त्रका पक्षमा नेपालभरका लाखौ उपभोक्ताहरुलाई आन्दोलनमा उतारे । लोकतन्त्रको स्थापना भएमा मात्रै वनका उपभोक्ता हरुले अधिकार पाप्त गर्न सक्छन् भन्ने सोचका साथमा लाखौ उपभोक्ताले सडक तातो पारे । अन्ततः आन्दोलन उचाईमा मात्रै पुगेन सफल समेत भयो ।
नेतृत्व तहमा रहेर सधै काम गरेका पाण्डे अहिले तुलसीपुर उप महानगरपालिकाको मेयरका रुपमा एमालेबाट चुनावी मैदानमा छन् । संसार वुझेका सामान्य किसानका छोरो पाण्डेसँग यस क्षेत्रका मानिसका धेरै आशा र सपनाहरु पनि छन् । अनि उस्तै गुनासाहरु पनि छन्् । उनलाई गाउँले उठायो, संसार चिनायो तर उनले आफ्नै गाउँलाई भुले । ठूलो समुद्र भएको देशमा पुगेपछि, सानातिना खोलानाला विर्सेकै हो त ? पाण्डेलाई धेरैले लगाउने आरोपको उनीसंग रमाईलो जवाफ पनि छ “म विदेश गएपनि नेपाली भएर गए, दङाली भएर गए,विश्व चिने र विश्वमा महत्वपूर्ण कार्यक्रमहरुमा वोलेर नेपालको नाम राखे , चारो खोज्न उडेको चरालाई उड्यो भन्न मिल्छ र ? जहाँ गए पनि आउने त आफ्नै गुँडमै त हो नि ” संसार बुझेर आएका पाण्डेसंग संसारभर घुमेका विभिन्न अनुभव पनि छन् जसलाई उनले आफ्नै गुँड सुन्दर बनाउन प्रयोग गर्ने सपना छ । यही सपनाले २० वर्षपछि उप पद फ्योकर मेयर पदमा उनलाई “प्रमोसन” गरेको छ एमालेले । उनले पाटीलाई गरेको योगदानको फल पाएका छन् । तर पनि उनीसँग केयौ चुनौतिहरुका चाङ छन् । उनको गुँड अहिले फराकिलो भएर उप महानगरपालिका समेत भएको छ । “जति ठुलो भयो उति धेरै सम्भावना” । उनीसंग जोश र उत्साह मात्रै छ ।
एमाले पाटीमा उनी सामान्य कार्यकर्तादेखि पाटीका विभिन्न संगठनहरुमा नेतृत्व समेत गरिसकेका छन् । २०६३ देखि हालसम्म अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यसमितिको सदस्य, २०६४ देखि पाटीको प्राकृतिक स्रोत विभागको केन्द्रीय सदस्य, २०७० मा नयाँ कृषि अभियानको कृषि सहकारी उपाध्यक्ष र २०७३ देखि हालसम्म एमालेको केन्द्रीय सहकारी विभागको केन्द्रीय सदस्य भएर उनले पाटीले दिएको जिम्मेवारी निर्वाह काँधका वोकेर हिडेका छन् ।
तुलसीपुरलाई पश्चिमको विनारा लगाएको अश्वारामा २०३० मा जन्मिएका पाण्डेले विज्ञानको पढाइलाई स्नातकमै रोकेर एम.ए.,एल.एल.वि. सम्मको अध्ययन गरेका छन् । यही वर्ष उनको नामका अगाडी डाक्टर पनि जोडिदैछ । “कहिले सम्म पढ्छु ?, के के पढ्छु ? समयले देखाउदै लैजान्छ” सर्टिफिकटको चाङ नियाल्दै उनले भने ।
दुइवटै संविधान सभाको निर्वाचनमा सभासदमा नाम चर्चामा रहेर पनि टिकट नपाएका उनी कहिल्यै निराश भएनन्् । “काम गर्दै जानुपर्छ अवसर अवश्य आउछ” हरेक कुरालाई सकारात्मक आँखाले हेर्नुपर्दछ भन्ने सोच राख्ने पाण्डेले आशावादी भएर कुराको पनि विट मारे ।

प्रकाशित मिति : २०७४ असार १० गते शनिवार
प्रतिक्रिया