दाङमा दुई हजार बढि उम्मेदवार चुनावी मैदानमा,आफ्नो पक्षमा मत माग्न भ्याई नभ्याई

दाङ, असार ८ ।
असार १४ मा हुने स्थानीय तहको चुनावमा दाङमा ५ सय २० जनप्रतिनिधि चुनिदैछन । २७ दलका र स्वतन्त्र गरी २ हजार ३ सय ८२ जना उम्मेदवार दाङको चुनावी मैदानमा छन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ वटा गाउँपालिकासहित १० स्थानीय तह रहेको दाङमा मेयर र अध्यक्षका लागि ६ जना महिला र ७६ जना पुरुष चुनावी दौडमा छन् ।

उपमेयर र उपाध्यक्षका लागि ५९ महिला र ८ पुरुष चुनावी मैदानमा छन् । एकसय वडा रहेको दाङमा ५ सय १ पुरुष र २४ जना महिलाले चुनावमा भाग लिएका छन् । हरेक वडाबाट छानिने दुईजना वडा सदस्यका लागि ४३ जना महिला र ८ सय ४३ पुरुष चुनावी दौडमा छन । महिला वडा सदस्यका लागि ४ सय ३८ जना र दलित महिला वडा सदस्यका लागि ३ सय ८४ जनाले चुवावमा भाग लिएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

एक चरणको घरदैलो सकेका दलका उम्मेदवार व्यक्तिगत तथा सामूहिक भेटघाटमा व्यस्त छन् भने धेरै पछि उम्मेदवारको टुंगो लगाएका नेपाली कांग्रेसका उम्मेदवार भने घरदैलोमा नभई वडा तथा टोलस्तरीय कार्यक्रम गर्दै भोट मागिरहेका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका दलका वडाका उम्मेदवारले एक चरणको घरदैलो सकेर व्यक्तिगत भेटघाट सुरु गरेका हुन भने उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुले भने मनोनयन दर्तासँगै वडा तथा गाउँ स्तरीय भेला गर्दै आफूले जितेपछि गर्ने कार्यहरुका बारेमा जानकारी दिँदै हिँडेका छन् ।

मतदाताहरुले भने उम्मेदवारबाट जितपछि गर्ने कामको प्रतिवद्धता खोज्ने गरेका छन् ।

प्रकाशित मिति : २०७४ असार ८ गते बिहिवार
प्रतिक्रिया