काठमाडौं, १ असार ।
निर्वाचन आयोगले असार १४ गतेलाई तोकिएको स्थानीय तहको चुनाव सार्न नसकिने स्पष्ट पारेको छ । चुनावको मिति अझै पछि सार्दा प्रदेश तथा संघको चुनाव समेत प्रभावित हुने भन्दै चुनावको मिति सार्ने प्रस्ताव आयोगले अस्वीकार गरेको हो ।
सत्तारुढ दल र निर्वाचन आयोगबिच भएको छलफलपछि पत्रकारसँग प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पूर्व निर्धारित कार्यक्रम अनुसार शुक्रबार नै मनोनयन दर्ता हुने जानकारी दिनुभयो । सरकारले भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको भनेर आश्वस्त पारेको हुनाले शुक्रबारको मनोनयन दर्तामा समस्या नहुने उहाँको भनाई छ ।
असन्तुष्ट राजपालाई पनि चुनावमा ल्याउन चुनावको तालिका हेरफेर गर्न सकिन्छ कि भनेर निर्वाचन आयोगसँग छलफल गरेको तर आयोगको तर्फबाट सम्भव नरहेको जानकारी गराएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । चुनावको मिति सार्न नसकिने आयोगको भनाईपछि अहिले सत्तारुढ दलको बैठक बसिरहेको छ ।