व्यापारी राजकुमारको सूचना दिनुहोस, एक लाख रुपैयाँ लैजानुहोस

ओपेन्द्र बस्नेत,
तुलसीपुर, ३० जेठ । अपहरित व्यापारी राजकुमार घटनाका सम्बन्धमा नेपाल प्रहरीले उच्च स्तरीय अनुसन्धान टोली गठन गरेको छ । क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले राप्तीअंचल प्रहरी प्रमुख ज्ञान बिक्रम शाहको संयोजकत्वमा ४ सदस्य अनुसन्धान टोली गठन गरेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक विजय कायश्थले बताउनुभयो ।
अनुसन्धान टोलीमा क्षेत्रीय प्रहरी कार्यालय अन्र्गत बाँकेमा रहेको प्रहरी गणका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विरेन्द्र बस्याल, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारी र जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्री रहेका छन् ।
बुटवल बस्त्रालयका संचालक राजकुमार श्रेष्ठ र रणबहादुर घर्ति गत शुक्रबार एकाएक वेपत्ता भएपछि प्रहरीले खोजीकार्यका लागि ३ सय प्रहरी परिचालन गरिएको अनुसन्धान टोलीको संयोजक तथा बरिष्ट प्रहरी उपरिक्षक शाहले बताउनुभयो । उहाँका अनुसार डेढ सय बढी सादापोशाकमा प्रहरी परिचालन गरिएको छ । सोमबार मात्रै प्रहरी नायब महानिरीक्षक कायश्थको नेतृत्वमा गएको टोलीले सिनबाङ र रिमको जंगलमा सर्च गरेको थियो । अनुसन्धानमा सहयोग पुरयाउन तालीम प्राप्त भुन्टी कुकुरलाई पनि प्रयोग गरिएको छ ।

के गर्दै छ प्रहरी ?
प्रहरीले सुचना दिने मान्छेलाई एक लाख पुरस्कार दिने घोषणा गरेको छ । ‘हामीले स्ट्यण्ड बाई हेलीकप्टर पनि तयारी अवस्थामा राखेकाछौ, यदि विकट ठाउँमा भएपनि सूचना पाए तुरुन्तै जान्छौ,– संयोजक शाहले भन्नुभयो एक लाख राशीको पनि पुरस्कार दिने घोषणा गरेका छौं ।’
अहिले सम्म ७ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिसकेको छ भने केहि संकास्पद व्यक्ति भागेको प्रहरीले बताएकोछ । केहि संकेतहरु देखा परेकाले अपराधी छिटै पक्राउ पर्ने प्रहरीले बताएको छ । प्रत्यक्ष दर्शिका बयानका आधारमा प्रहरीले घटनामा संलग्न दुई जनाको स्केच तयार गरि प्रहरीले सार्वजनिक गरेको छ । अपराध लुकाउन भारतीय गाडिमा रुकुम जान लागेका रणबहादुरलाई पनि सो समूहले संगै लिएर गएको अनुसन्धान टोलीका संयोजक शाहले बताउनुभयो । प्रहरीका अनुसार एक होटेल संचालक समेत पक्राउ परेका छन् ।

राजकुमारको गाडिलाई कुरेर बसेको समूहले झुक्किएर भारतीय नम्बरको गाडि रोक्नेक्रममा अपहरणकारीले रुकुम जान लागेका रणबहादुर चिनेपछि पोलखुल्ने डरले संगै लिएर गएको प्रहरील बताएको छ । गत शनिबार विहान राजकुमार सवार गाडि र भारतीय नम्बर प्लेटको गाडि कपुरकोट गाउँपालिका ५ स्थित रिम र सिनबाङको विच खोलमा भेटिएका थिए । गाडि भेटिएका आधारमा प्रहरीले खोजीकार्यालाई पनि त्यतै केन्द्रित गरेको छ ।

 

 

 

प्रकाशित मिति : २०७४ जेष्ठ ३० गते मङ्गलवार
प्रतिक्रिया