बेटर नेपालको मन्सरा बचाऔँ अभियान

रोशन गिरी

काठमाडौँ, २२ जेठ । नेपाली युवाको अन्तर्राष्ट्रिय सञ्जाल मिसन बेटर नेपालले आँखाको क्यान्सरबाट ग्रसित कालीकोटकी बालिका मन्सरा लुहारको जीवन बचाउनका लागि अभियान सुरु गरेको छ ।  गत सालदेखि नै कालीकोटको दुर्गम भेगका बासिन्दाको स्वास्थ्य सुधारका लागि क्रियाशील मिसनले मनसराको आँखाको शल्यक्रियाका लागि अभियान सुरु गरेको हो ।

कालीकोट रास्कोट नगरपालिका–७ निवासी रने लुहारकी चार वर्षीया छोरी मनसराको आँखामा केही महिना अगाडि सामान्य चोट देखिए पनि उपचारको अभावमा उक्त समस्याले घाउको रूप लिएर बढ्दै गएपछि अहिले आँखो छोपिएको र घाउ दिनदिन बढ्दै र कुहुँदै गएकोे छ ।

मान्मा अस्पतालमा कार्यरत अहेब दीर्घबहादुर नेपालीले उनको उपचार जिल्लामा सम्भव नभएकाले काठमाडौँ अथवा अन्य स्थानमा लानुपर्ने बाध्यता देखापरेको छ । मिसन बेटर नेपालले मनसरालाई काठमाडौँ ल्याउने तयारी गरेको अभियानका सल्लाहकार महेश पौड्यालले जानकारी दिनुभयो ।

सो रोग रेटिनो ब्लास्टोमा अल्सरेटिभ ट्युमर भनिने क्यान्सरजस्तो रोग भएको त्रिपुरेश्वर आँखा अस्पतालका नेत्र चिकित्सकले जनाएका छन् । चिकित्सकले त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मनसरालाई भर्ना गर्न सल्लाह दिएअनुसार बेटर नेपालले भर्नाका लागि पहल गरिरहेको संयोजक रवीन खतिवडाले जानकारी दिनुभयो ।

मनसराको उपचारका लागि अर्थ सङ्कलन पनि भइरहेकाले इच्छुक दातालाई मनसरा लुहारकै नाममा सानिमा बैंक मान्मा शाखामा खोलिएको खाता नं ०४४०००००१०० मा रकम जम्मा गरेर सहयोग गर्न आग्रह गरिएको छ । बोतल वितरण जरा फाउन्डेसका जर्मन ब्युरो प्रमुख किम जे बार्डेनले गोरखास्थित पुर्काेट मावि, मुलाबारीका विद्यार्थीलाई २१५ पानीका बोतल वितरण गर्नुभएको छ । घरैबाट शुद्ध पानी बोकेर आउन् भन्ने उद्देश्यले ती बोतल बाँडिएको फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७४ जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया