एक हजार ५ वटा उजुरी फाइल हस्तान्तरण
तुलसीपुर, २१ जेठ ।
सत्यनिरुपण तथा मेलमिलाप आयोगका सदस्य श्रीकृष्ण सुवेदीले पिडितलाई न्याय दिलाउन खुट्टा नकमाउने बताएका छन् । द्धन्द्धकालिन घटनाको छानवीनकालागि प्रदेश नं। ५ को मुकाम कार्यालय तुलसीपुरमा आइतबार उद्घाटन गर्दै सुवेदीले घटनाको छानवीनलाई थप सहज बनाउन मुकाम कार्यालयको स्थापना गरिएको बताए । पीडितहरुमा न्यायिक प्रक्रिया अघि नबढेको भन्दै निराशा छाउन थालेको भन्दै आयोगले परिभाषित काम गर्न अव ढिलाई नगर्ने बताए ।
पीडितहरुले मात्रै होइन पीडितहरुको उजुरीमाथिको छलफलमा किन ढिलाई भइरहेको भन्ने प्रश्न अन्तर्राष्ट्रिय जगतले समेत चासो लिएको उनको भनाई थियो । विश्वका ६२ देशले द्धन्द्धपीडितका उजुरीमाथिको छानवीन र आयोगको काममा भइरहेको ढिलाईप्रति चासो राखेको जानकारी दिदै सुवेदीले आयोगले पीडितको पक्षमा काम गरिछाड्ने प्रतिवद्धता जनाए । उनले ९० प्रतिशत पीडितले कारवाहीको अपेक्षा गरेको जानकारी दिदै परिपुरणलाई पनि उत्तिकै जोड दिनुपर्ने बताए ।
उच्च अदालत तुलसीपुरको सरकारी वकिल कार्यालयमा मुकाम कार्यालय स्थापना गरिएको हो । आयोगले जेठ २१ गते नै पाँच नम्वर प्रदेशका कुल १५ हजार उजुरीमध्ये एक हजार ५ वटा उजुरी फाइल मुकाम कार्यालयलाई हस्तान्तरण समेत गरेको छ । आयोगका सदस्य सुवेदीले मुकाम कार्यालयका प्रमुख एवं उच्चअदालत तुलसीपुरका न्यायाधिवक्ता सुरेन्द्र जंग शाहीलाई हस्तान्तरण गरेका हुन । तुलसीपुर मुकामअन्तर्गत बुटवल र नेपालगञ्जमा पनि शाखा कार्यालय राखेर छानवीन गर्ने तयारी भइरहेको आयोगले जनाएको छ ।
दाङमा उच्चअदालत तुलसीपुरका न्यायाधिवक्ता सुरेन्द्रजंग शाहिको संयोजकत्वमा पुनरावेदन अदालतका पूर्व न्यायाधिस नारायण प्रसाद धिताल र सीता आचार्य रहेको छानवीन समिति समेत गठन गरिएको छ । समितिले छानवीनकालागि विशेषज्ञहरुको समेत सहयोग लिएर घटनाको छानवीन गर्नेछ । पाँच नम्वर प्रदेशको मुकामको जिम्मेवारी आयोगका सदस्य श्रीकृष्ण सुवेदीलाई यसअघि नै आयोगले दिइसकेको छ ।