भक्तपुर, जेठ १९ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आपराधिक मानसिकताका कारण भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको आरोप लगाउनुभएको छ । शुक्रबार भक्तपुरको सूर्यविनायकमा नारायणविलास जोशी स्मृति प्रतिष्ठान सार्वजनिकीकरण एवम् नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई ज्ञापन समारोहमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
हार्ने मानसिकताले निर्वाचन सम्बन्धी अपराध गरेको बताउँदै उहाँले त्यहाँको नगरप्रमुखका उम्मेद्वारका कारण जनताले भोट हालेको २० दिन बित्दा पनि परिणाम पाउन नसकेको बताउनुभयो । प्रधानमन्त्रीको छोरी उम्मेद्वार भएकाले समस्या भएको संकेत गर्दै ओलीले भन्नुभयो–‘भरतपुरको मतगणनामा उम्मेद्वारको कारणले गाह्रो पार्यो, एमालेले अन्त पनि जितेको छ, तर भरतपुर मै चाँही किन च्यातियो, अन्त किन च्यातिएन ? समस्याको जड जनताले थाहा पाइसकेका छन् ।’
स्थानीय तहको पहिलो चरणको चुनावमा राज्य सत्ताले दुरुपयोग गरेको बताउँदै उहाँले भन्नुभयो–‘राज्य सत्ता किन त्यसरी लाग्यो ? किन मतपत्र च्यात्नु पर्यो ?, निर्वाचन सम्बन्धी किन अपराध गर्नु पर्यो ?’
भरतपुरमा मतगणना हुनै पर्ने अडान दोहोर्याउँदै अध्यक्ष ओलीले भन्नुभयो–‘अपराध कर्मबाट चुनाव जित्ने होइन, जनताको मन जितेर चुनाव जित्ने प्रयास गर्नुस्, अपराध कर्मबाट जिताए मान्दैनौ, भरतपुरमा मतगणना हुनै पर्छ ।’
निर्वाचन आयोगलाई दबाब दिएकै कारण आयोगले अझै के गर्ने भनेर फैसला गर्न नसकेको टिप्पणी गर्दै उहाँले मतगणना सुरु नगरेसम्म संसद अवरुद्ध पार्ने बताउनुभयो ।
भरतपुरमा फेरी मतदान भए गलत नजिर बस्ने र आगामी चुनावहरुमा हार्ने पक्षले पटक पटक मतपत्र च्यात्ने र पटक पटक चुनाव गराइरहनु पर्ने अवस्था आउने उहाँको भनाई थियो ।