सरकार गठनको बहुमतिय प्रक्रिया शुरु

काठमाण्डौ,१८ जेठ ।
संविधान अनुसार सहमतिय सरकार गठन हुन नसकेपछि अब बहुमतिय प्रक्रियाबाट सरकार गठन हुने भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज देखि बहुमतिय सरकार गठनको पहल थाल्नुहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २ सय ९८ को उपधारा (२) बमोजिम सात दिनभित्र सहमतीय सरकार गठन गर्न आह्वान गर्नुभएपनि दलहरु सहमतिय सरकार गठन गर्न सफल भएनन् ।

अब, संविधानको धारा २९८ को उपधारा (३) अनुसार व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सदस्य सङख्याकोे बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन हुने छ । अहिले व्यवस्थापिका संसदमा ५ सय ९३ सदस्य छन् । काग्रेस सभापति देउवा, प्रधानमन्त्री बन्न उहाँको पक्षमा कम्तिमा २ सय ९७ सांसद आवश्यक पर्छ ।

काग्रेस, माओवादी, विजयकुमार गच्छ्यदार र राप्रपा सम्मलाई मिलाएर बहुमतिय सरकार गठन गर्ने कसरत काग्रेसले गरेको छ । दोश्रो चरणको निर्वाचन अघि सानो आकारको मन्त्रीपरिषद बनाउने र त्यसपछि मन्त्रीमण्डल बिस्तार गर्ने आन्तरिक तयारी पनि काग्रेस माओवादीले गरेका छन् ।

प्रकाशित मिति : २०७४ जेष्ठ १८ गते बिहिवार
प्रतिक्रिया