प्युठान, १६ जेठ । प्यूठान जिल्लामा एमाले र राष्ट्रिय जनमोर्चाबीचको चुनावी तालमेल भाँडिएको छ । स्थानीय तहको निर्वाचन मिति आउन सीमित दिन बाँकी रहेका बेला राष्ट्रिय जनमोर्चाले पूर्वसहमति भंग गरेर एमालेसँगको तालमेल तोडेको हो । प्यूठान जिल्लामा एमाले र राष्ट्रिय जनमोर्चाको आ–आफ्ना संगठन बलिया छन् ।
एमाले जिल्ला नेतृत्वले आफ्ना कार्यकर्तालार्इ सम्झाउन नसकेपछि राष्ट्रिय जनमोर्चाले निर्वाचनमा एमालेले अन्तिम समयमा धोका दिन सक्नेभन्दै तालमेल गर्ने समझदारी भङ्ग भएको घोषणा गरेको हो । जनमोर्चाका जिल्ला अध्यक्ष कृष्णबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुई पक्षबीच भएको सहमति इमान्दारितापूर्वक कार्यान्वयन गर्न बारम्बार आग्रह गर्यौं । तर, एमाले नेतृत्व त्यसमा गम्भीर भएन ।’
एमाले र राष्ट्रिय जनमोर्चाबीच जेठ ८ गते दोस्रो चरणको चुनावका क्रममा प्यूठानमा तालमेल गर्ने सहमति भएको थियो । तर, त्यसको एमालेबाटै विरोध भएको थियो । दुई दलबीच भएको सहमति लागू गर्न र पार्टीमा देखिएको असन्तुष्टि समाधान गर्न एमालेले १० र ११ गतेको समय मागेको थियो ।
एमाले नेतृत्वबाटै सहमति विपरितका नयाँ सर्तहरू राख्ने काम भएको राष्ट्रिय जनमोर्चाले दाबी गरेको छ ।राष्ट्रिय जनमोर्चासँग तालमेलको खबर पाएपछि जिल्ला सदरमुकाम खलङ्गा पुगेका एमाले कार्यकर्ताले एमाले जिल्ला नेतृत्व बिरुद्ध नाराबाजी गरेका थिए ।