तुलसीपुर, १२ जेठ ।
पश्चिम दाङमा १० महिनामा १४ वटा बलात्कारका घटना घटेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरको तथ्याङ्क अनुसार साउन महिनादेखि बैशाखसम्म १४ वटा बलात्कारका घटना घटेका छन् । त्यसैगरी तीन वटा जबरजस्ती करणीको प्रयास भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए । बलात्कारका घटना मध्य एउटा हाडनाता र दुईवटा सामुहिक बलात्कार परेकाछन् । सामुहिक बलात्कारमा ३ जनादेखि ५ जना सम्मको संलग्नता रहेको पाइएकोछ । त्यस्तै जवरजस्ती करणी उद्योगमा ३ जना सम्मको संलग्नता रहेको छ । बलात्कारमा संलग्न रहेका २३ जना मध्य १२ जना पक्राउ परेका छन् भने ११ जना फरार रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी जबरजस्ती करणी उद्योगमा संलग्न रहेका ५ जना मध्य ४ जना पक्राउ परेपनि एक जना अझै फरार छन् ।
बलात्कार हुनुको कारण
यता प्रहरीले बलात्कार घटना घट्नुको मुख्य कारण मादकपदार्थ मोबाईल र सामाजिक संजालको दुरुपयोग, एकलै हिड्नु जस्ता कारणलाई अघि सारेको छ ।
‘सवैका हातहातमा मोबाइल छ, यो अत्यन्तै आवश्यक पनि हो । मोवाइलका कारण सामाजिक संजाल फेसवुक प्रयोग कर्ताहरु पनि ह्वातै बढेका छन, जसका कारण आवश्यक भन्दा अनावश्क काममा बढि प्रयोग हुने भएकाले रेप केसको मुख्य कारण यो पनि हो ।’ प्रहरी नायब उपरिक्षक तिम्सिनाले भने ।
किन पक्राउ पर्दैनन आरोपी ?
त्यसैगरी घटना लगत्तदै आरोपीहरु भाग्ने भएकाले पक्राउ पर्नेमा केहि समस्या भएको प्रहरीले बताएको छ । कुनै घटना घटाएर आरोपीहरु लामो समय सम्म लुकिछिपी बस्दै आएपनि नागरिकले प्रहरी सम्म कुनै जानकारी नदिने भएकाले पक्राउ पर्नेमा केहि ढीलाई भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका अपराध अनुसन्धान प्रमुख तथा प्रहरी नायब निरिक्षक रामबहादुर जिसीले जानकारी दिए । ‘अपराधी अपराधी नै हुन ढिलोचाँडो अवश्य हुन्छ, तर एक दिन पक्राउ नपरेर सुखै छैन’ प्रहरी नायब निरिक्षक जिसीले भने ।