सुधासुमन ढकाल
तुलसीपुर, ११ जेठ/ पत्रकार संगित बस्यालले पत्रकारीताबाट विश्राम लिएको घोषणा गरेका छन् । करिब १० बर्षदेखि पत्रकारिता पेशामा संलग्न रहेका बश्यालले आज रिपोटर्स क्लव तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर पत्रकारिता पेशा छोडेको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा बस्यालले रेडियो प्रकृतीको स्टेशन म्यानेजर, पत्रकार महासंघको सदस्य र प्रेस क्लव अफ दाङको अध्यक्ष पदबाट राजीनामा दिनुभएको हो ।
‘मलाई नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका वडा नं ९ मा वडा अध्यक्षको उम्मेदवार उठाएको छ, पत्रकारिता र राजनीति संगसंगै जाँदैन त्यै भएर यो पेशा छोडेको हुँ’ बस्यालले भने ।
पत्रकारीता पेशालाई बलियो बनाउन र पत्रकारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि पनि राजनीतिमा जान आवश्यक ठानेको पत्रकार सम्मेलनमा बस्यालले बताए ।
‘मैले बुझे, सवै नीतिको मुख्य माउँ नीति भनेको राजनीति रहेछ, त्यसैले राजनीतिको मुख्य मियोमा नपुग्दा सम्म हामी पत्रकारकारलाई हेर्ने दृष्टिकोण, कतै भत्ता पाए भने दौडने पत्रकार, खाजाखान पाए भने दौडने पत्रकार भन्दा माथि उठ्दैनकि, त्यो भन्दा माथिको भूमिका हुन सक्दैनकि भन्ने मलाई लागेको छ’ बस्यालले भने ।
पत्रकारिता क्षेत्रमा सवै क्षेत्रका अयोग्य भएर आएका व्यक्तितवहरु मात्रै नभएको भन्दै बस्यालले अन्य क्षेत्रमा पनि राम्रो दख्खल भएका व्यक्तिहरु आएकाले यो क्षेत्रलाई फराकिलो ढंगले हेरिदिन सामाजिक क्षेत्रहरुलाई आग्रह गरे । क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको सम्मेलनको सहजीकरण प्रेस चौतारी दाङका सचिव वसन्त विवश आचार्यले गरेका थिए ।