दाङ, ८ जेठ ।
पोखरामा भएको राष्ट्रिय नारी साहित्य परिषद् नेपालको प्रथम राष्ट्रिय भेलाले दाङकी साहित्यकार भावना न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष शान्ति शर्मा, सचिव गौरी तमु, सहसचिव तारा पराजुली, कोषाध्यक्ष कल्पना खरेल र सहकोषाध्यक्षमा तारा केसी छन् । यस्तै, सदस्यमा अम्बिका भण्डारी, टीका सापकोटा, वादलदेवी चाम्लिङ, भवानी तिमिल्सिना, जयन्ति थापा सरगम र सन्ध्या रिजाल छन् ।
१ सदस्यपछि थपिने बताइएको छ । अग्रज गायिका हरिदेवी कोइरालाले महिला सशक्तीकरणका लागि पछिल्लो पुस्ता आशावादी रुपमा अघि बढेको बताइन् । उनले सम्भावनाका नयाँ क्षेत्र पहिचान गर्दै अधिकार र सिर्जनाको क्षेत्रका क्रियाशील हुनुपर्ने बताइन् । कार्यक्रममा साहित्यकार सरस्वती श्रेष्ठ ‘सरु’ले पनि बोलेकी थिइन् ।
सो अवसरमा सहभागी साहित्यकारहरुले रचनावाचनसमेत गरेका थिए । भावना न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अम्बिका भण्डारी र सञ्चालन गौरी तमुले गरेका थिए । नारी साहित्य परिषद् नेपालका अध्यक्ष साहित्यकार न्यौपाने यस अघि भारतमा भएको साहित्यकारहरुको सम्मेलनमा अन्तराष्ट्रिय गौरव सम्मानका साथै दर्जनै सम्मान पाई सकेकी छन् ।