रुकुम २ जेठ ।
स्थानीय तहको पछिल्लो परिणाममा नेपाली कांग्रेसलाई पछि पार्दै माओवादी केन्द्रले अग्रता लिएको छ । आफ्नो आधार इलाकामा ठान्ने माओवादीले जिल्लाका कुल ७३ वडा मध्य हाल सम्म २३ वडामा जित निकालेको छ । तीन गाउँ तथा नगरपालिकामा भएको चुनावमा माओवादीले पाँच तहको प्रमुखमा अग्रता कायम राखेको छ ।
सानीभेरी गाउँपालिकाका १ देखी १० वडा सम्म पुरै प्यानल माओवादी विजयी भएको छ । माओवादी केन्द्रका अध्यक्षका उम्मेदवारले ४३ सय २४ उपाध्यक्षले ४३३४ मत प्राप्त गरेका छन् भने कांग्रेसका तर्फवाटका अध्यक्षका उम्मेदवारले २२ सय ४९ र उपाध्यक्षले २१६८ मत प्राप्त गरेका छन् । यता मुसीकोट नगरपालिका ५ देखी ८ नं. वडा सम्म माओवादीले जित निकालेको छ । चौरजहारी नगरपालिकाका वडा नं. १४ मा पनि माओवादीले जितेको छ । चौरजहारी नगरपालिकामा माओवादीका प्रमुखका उम्मेदवारले १२ सय ५० र नेपाली कांग्रेसका उम्मेदवारले चार सय ८५ मत प्राप्त गरेका छन् । यस सहित माओवादीले जिल्लाका २३ वडाहरुमा जितेको छ ।
त्यस्तै नेपाली कांग्रेसले मुसीकोट नगरपालिकाका १ देखी ३ वडामा पुरै प्यानल विजयी भएको छ । धेरै मतले अन्तरदेखिएका नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार हाल ७४ मतले मात्र अगाडि छन् । कांग्रेसका प्रमुखका उम्मेदवार महेन्द्र केसीको २५ सय ४२ र नेकपा माओवादी केन्द्रका प्रमुखका उम्मेदवारले २४ सय ६८ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसले त्रिवेणी गाउँपालिकाको वडा २ मा पुरै प्यानल सहित जितेको छ । आठविसकोट नगरपालिकामा पनि माओवादी केन्द्रले अग्रता लिएको छ ।
यहाँ माओवादीले पाँच सय ८१ र नेपाली कांग्रेसले एक सय ९८ मत प्राप्त गरेका छन् । यहाँ माओवादी केहि अगाडि छ भने नेपाली कांग्रेस र एमालेको थोरै मत अन्तरले तलमाथी छन् । नेकपा एमालेले एक सय ९७ मत प्राप्त गरेको छ । यसैगरी वाँफिकोट गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा छ ।
अग्रता कायम राखेको नेपाली कांग्रेस पछिल्लो मत परिणाममा दोस्रो स्थानमा झरेको छ । माओवादीले नौं सय ३७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसले आठ सय १६ मत प्राप्त गरेका छन् । यहाँ नेपाली कांग्रेस र एमालेबीच तालमेल समेत भएको थियो ।