सुधासुमन ढकाल
तुलसीपुर, ३१ बैशाख / दाङमा म्यादी प्रहरीको म्याद थपिएको छ । बैशख ३१ हुने निर्वाचनको सुरक्षार्थ भर्ना गरिएपनि दोस्रोचरणमा निर्वाचन हुने भएपछि उनिहरुको म्याद थप गरिएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख धिरज प्रताप सिंहले निर्वाचन सरेसंगै म्यादि प्रहरीको समयावधि पनि एक महिनाकालागि थपिएको बताए । प्रमुख सिंहका अनुसार एक महिनाका लागि उनिहरुको सेवा सुविधा सहित म्याद थपिएको हो । ‘अन्य प्रहरी जवानले एक महिनामा पाउने पारिश्रमिक अनुसार उनिहरुले पनि पाउँछन, यति नै दिने भन्ने तोकिएको छैन ।’
प्रमुख सिंहले भने । यस अघि उनिहरुलाई ५१ हजार रुपैया दिने सम्झौता भएको थियो । गत चैत्र २५ गते दाङमा एक हजार ३ सय ४० म्यादि प्रहरीमा भर्ना भएका थिए । निर्वाचन सरेलगत्तै उनिहरुलाई अहिले विभिन्न सुरक्षार्थ खटाइएको छ म्यदी प्रहरीलाई तालिमका साथसाथै अन्य प्रहरी संग रातिमा गस्ति गराउने, सरकारी कार्यालय, विद्यालयहरु, मन्दिर लगायतका सार्वजनिक स्थानहरुको सरसफाईमा लगाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पहिलो चरणको निर्वाचन आइतबार भएपनि दोस्रोचरणको निर्वाचन भने जेठ ३१ गते हुदै छ ।