आज मध्यरातबाट मौन अवधि सुरु , उल्लंघन गरे उम्मेदवारी रद्द

१ वैशाखमा हुने पहिलो चरणको निर्वाचनका लागि बिहीबार ‐आज) राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ ।मतदान सुरु हुनु ४८ घण्टाअघिबाट सुरु हुने यो अवधिमा राजनीतिक दलहरूले प्रचारप्रसारलगायतका कुनै पनि गतिविधि गर्न पाउँदैनन् भने सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत यो लागू हुनेछ ।

निर्वाचन आयोगका अनुसार मौन अवधिको उल्लंघन भए उम्मेदवारको उम्मेदवारी रद्द देखि १ लाख सम्म जरिवाना हुन सक्छ भने मौन अवधि उल्लंघन गरे÷नगरेको आयोग स्वयंले अनुगमन गरी कारबाही गर्न सक्नेछ ।

मौन अवधि सुरु भएपछि चुनाव प्रचारप्रसारलगायतका राजनीतिक गतिविधि गर्न नपाइने भन्दै आयोगले बुधबार दलहरूलाई सचेतसमेत गराएको छ । मौन अवधि सुरु भएपछि मतदान नसकिएसम्म चुनावी प्रचारप्रसारअन्तर्गत सभा, जुलुस, नाराबाजीलगायतका कुनै पनि गतिविधि गर्न नपाइने आयोगले बताएको छ ।आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बिहीबार ‐आज) मध्यरातसम्म दलहरूले आफ्नो वा उमेदवारको प्रचारप्रसार गर्न पाउने तर मौन अवधि सुरु भएपछि नपाउने बताए  ।

‘बिहीबार साझसम्म सबैले आफ्नो दल र उम्मेदवारको प्रचारप्रसार गर्न पाउँछन् तर मौन अवधि सुरु भएपछि निर्वाचनको दिनसम्म नै पाइँदैन,’ प्रवक्ता शर्माले  भने । उनका अनुसार निर्वाचनको ४८ घण्टाअघिबाट नै मौन अवधि सुरु हुनेछ ।

मौन अवधिभित्र आयोगले जारी गरेको आचारसंहिताको परिच्छेद २ को नियम ५ (घ) ले उमेदवारले ५ प्रकारका काम गर्न निषेध गरेको प्रस्ट पारेको छ । यस्तै, स्थानीय तह निर्वाचन निर्देशिका २०७३ दफा ६९ मा मौन अवधि सुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न नहुने उल्लेख छ । स्थानीय तहको पहिलो चरणअन्तर्गतको निर्वाचन ३१ वैशाखमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने भन्दै आयोगले निर्वाचनको दिन मतदान सम्पन्न नहुँदा सम्म मौन अवधि रहने बताएको हो । पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गतका २ सय ८३ स्थानीय तहमा निर्वाचन हुँदै छ ।

के गर्न पाइँदैन ?

आचारसंहिताको परिच्छेद २ को नियम ५ (घ) अनुसार मौन अवधिमा पालना गर्नुपर्ने आचरणमा भनिएको छ, निर्वाचन आचारसंहितामा व्यवस्था भएअनुसार ‘उम्मेदवारले मौन अवधि सुरु भएपछि निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाउनेछैनन् । यस्तै मौन समय सुरु हुनुभन्दा अघि मतदान केन्द्रको ३ सय मिटरवरिपरि राखिएका निर्वाचन चिह्न तथा प्रचार सामग्री हटाएको हुनुपर्नेछ,’ भनिएको छ ।

यस्तै, एसएमएस, फेसबुक, भाइबर तथा विद्युतीय माध्यमद्वारा प्रयोय गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र प्रचार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने उल्लेख छ ।

४८ घण्टा यसो नगरौं

सभा, जुलुस, नाराबाजी

सामाजिक सञ्जाल र एसएमएसबाट मत अपिल

निर्वाचन चिह्न अंकित पहिरन, स्टिकर, लोगो, झोला, ट्याटु प्रदर्शन

दलनिकटका सवारीबाट मतदाता ओसारपसार

प्रकाशित मिति : २०७४ बैशाख २८ गते बिहिवार
प्रतिक्रिया