काठमाडौं, २५ वैशाख ।
विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम तीन मन्त्रालयसहित सरकारमा सहभागी भएको छ । गच्छदारले उपप्रधानमन्त्रीसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । फोरमका तर्फबाट जितेन्द्र देवले नागरिक उड्डयन तथा पर्यटन र गोपाल दहितले भूमिसुधार मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।
मन्त्रीहरुको राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएका छन् । फोरम लोकतान्त्रिकले पाएका मन्त्रालय यसअघि राप्रपाले सम्हाल्दै आएको थियो । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले महाअभियोग दर्ता गरेपछि राप्रपा सरकारबाट बाहिरिएको थियो ।
तर महाअभियोग प्रस्तावलाई संसदमा अघि नबढाउने सत्तापक्षको प्रतिवद्धता आएमा फेरि सरकारमा जान सकिने राप्रपाले बताउँदै आएको छ । जेठमा अर्को सरकार गठन गर्ने कांग्रेस र माओवादीबिच सहमति भएकाले नयाँ सरकारमा पनि पार्टीको भूमिका र शक्तिको बाँडफाँडको कुरा मिलाएर फेरि सरकारमा फर्किन सकिने राप्रपाका नेता दिलनाथ गिरीले जानकारी दिनुभयो ।