स्थानीय निर्वाचनबाट चुनिनेहरुको तलव कती ?

काठमाडौं , २३ बैशाख।

स्थानीय तहको निर्वाचनबाट चुनिने प्रतिनिधिले राम्रो तलब पाउने भएका छन् । वैशाख ३१ गतेको निर्वाचनपश्चात ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा प्रमुख र उपप्रमुख र त्यस अन्तरगतका वडाका वडाअध्यक्ष र सदस्यहरु निर्वाचित भएर आउनेले सरकारी सेवासुविधा पाउने छन् । स्थानीय विकास मन्त्रालयका अनुसार महानगरपालिकाको मेयरको मासिक तलब ६० हजार र उपमेयरको ५० हजार रुपैयाँ हुने जनाएको छ ।

मन्त्रालयले मेयर उपमेयर तथा गाउँपालिका प्रमुख उपप्रमुख र वडाअध्यक्षहरुलाई मासिक तलब भत्ताको प्रस्ताव तयार पारेपनि परिवर्तन हुन सक्ने बताइएको छ । वडा अध्यक्ष समेत कार्यकारी भूमिकामा रहेकाले मासिक सेवा सुविधाको व्यवस्था गरिए पनि सदस्यले भने पाउने छैनन् । महानगरपालिकाको मेयरको मासिक तलब ६० हजार रुपैयाँ बाहेक अतिरिक्त भत्ता, गाडि सुविधा लगायतका विभिन्न शिर्षकमा थप सुविधा पाउन सक्ने प्रस्ताव गरिएको छ ।

महानगरपालिकाको उपमेयरको मासिक पारिश्रमिक मात्र ५० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । उपमेयरलाई पनि गाडी सुविधा र विभिन्न शीर्षकको भत्ताको व्यवस्था प्रस्ताव गरिएको छ । यस्तै उपमहानगरपालिकाको मेयरका लागि मासिक ५० हजार प्रस्ताव गरिएको छ । उपमहानगरपालिकाको मेयरले पनि गाडी सुविधा पाउने छन् ।

यस्तै विभिन्न शीर्षकमा भत्ताको पनि व्यवस्था प्रस्ताव छ । नगरपालिकाको मेयरका लागि मासिक पारिश्रमिक ४५ हजार र उपमेयरका लागि ४० हजार प्रस्ताव गरिएको छ । यस्तै गाउँपालिका प्रमुखको मासिक तलब ३५ हजार र उपप्रमुखको मासिक तलब ३० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । मन्त्रालयले प्रारम्भिक गृहकार्यमा गाउँपालिका प्रमुख र उपप्रमुखका लागि भने गाडी सुविधा दिन नसकिने प्रस्ताव गरेको छ ।

महानगरपालिकाको वडा अध्यक्षहरुलाई मासिक ३० हजार पारिश्रमिक र  उपमहानगरपालिका अन्तर्गतका वडा अध्यक्षलाई २५ हजार, नगरपालिका अन्तर्गतका वडा अध्यक्षलाई २० हजार र गाउँपालिका अन्तर्गतका वडा अध्यक्षलाई १५ हजार रुपैयाँ मासिक पारिश्रमिक प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : २०७४ बैशाख २३ गते शनिवार
प्रतिक्रिया