काठमाण्डौ,२१ बैशाख ।
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव आज संसद पेस हुने भएको छ । संसद् सचिवालयले प्रस्ताव पेसलाई सम्भावित कार्यसूचीमा प्रकाशन गरेको छ । संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले संसद् कार्य सञ्चालन नियमावलीको व्यवस्थाअनुसार संसद्मा पेस भएको प्रस्तावमा छलफलको मिति तोकिने बताउनुभयो ।
आज पेस हुने प्रस्तावको छलफलको मिति बैठकबाट सभामुख ओनसरी घर्तीले तोक्नुहुनेछ । सभामुखले तोक्नुभएको समयअनुसार प्रस्तावमा छलफल सुरु हुनेछ । छलफलको प्रक्रियापछि प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइनेछ । सिफारिस समितिको आवश्यक छानबिनपछि प्रतिवेदन पुनः संसद्मा नै पेस हुनेछ ।
समितिलाई बढीमा एक महिनाको समय रहनेछ । समितिले पेस गरेको प्रतिवेदनमा संसद्मा मत विभाजन हुनेछ । वैशाख १७ गते सत्ता साझेदार दुई दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका २४९ सांसदको हस्ताक्षरमा प्रधानन्यायाधीश कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता गरिएको थियो ।