काठमाण्डौ, ५ बैशाख ।
भारत भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीेले आज उच्चस्तरीय भेटघाट गर्दै हुनुहुन्छ । राष्ट्रपति भण्डारीले आज समकक्षी भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेश मन्त्री सुष्मा स्वराज र वित्तमन्त्री अरुण जेट्लीसँग भेट गर्नुहुनेछ । राष्ट्रपति भण्डारीको सम्मानमा आज ‘गार्ड अफ अनर’ कार्यक्रम राखिएको छ । राष्ट्रपति भण्डारीको भारत भ्रमणको औपचारिक भेटघाट कार्यक्रम आजै सकिनेछ ।
बिहान ९ बजे राष्ट्रपति भण्डारीलाई राष्ट्रपति भवनमा राखिएको गार्ड अफ अनर स्वागत कार्यक्रममा जसमा भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदी दुबैले स्वागत गर्नुहुनेछ । त्यहाँ स्वागत ग्रहण गरेपछि राष्ट्रपति भण्डारी विहान साढे ९ बजे राजघाटस्थित माहात्मा गान्धीको समाधिस्थलमा जानुहुनेछ । त्यस्तै १० बजे यमुना जैविक विविधता पार्कको अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ । राष्ट्रपति भण्डारीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिहान साढे ११ बजे राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ भने सवा १२ बजे गृहमन्त्री राजनाथ सिंहले भेट गर्नुहुनेछ ।
अपरान्ह पौने ४ बजे वित्तमन्त्री अरुण जेटलीले शिष्टाचार भेट गर्नुहुनेछ । राष्ट्रपति भण्डारीले आजै दिउँसो उद्योगी व्यवसायीहरुलाई सम्वोधन पनि गर्नुहुनेछ । आज बेलुका साढे ४ बजे प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति भण्डारीवीच भेटवार्ता हुनेछ भने साढे ५ बजे उपराष्ट्रपति हमिद अन्सारीले शिष्टाचार भेटवार्त गर्ने कार्यक्रम रहेको छ ।
यस्तै साँझ साढे ७ बजे भारतीय राष्ट्रपति प्रणव मुखर्जी र राष्ट्रपति विद्यादेवी भण्डारीवीच भेटवार्ता हुनेछ । त्यस लगत्तै राष्ट्रपति भण्डारी आफ्नो सम्मानमा समकक्षी मुखर्जीले आयोजना रात्रीभोजको सहभागी हुनुहुनेछ । राष्ट्रपति भण्डारीले उडिसा र गुजरातको भ्रमण गर्ने कार्यक्रम पपनि रहेको छ । उहाँ बैशाख ८ गते भारत भ्रमण सकेर स्वदेश फर्कनुहुनेछ ।