दलित महिला संघद्धारा भमकेमा एकिकृत समिति गठन

तुलसीपुर, २ बैशाख ।
दलित महिला संघ दाङ शाखाले तुलसीपुर उपमहानगरपालिका वडा नं १ र २ अन्र्तगत भमकेमा १५ सदस्यीय जनचेतना एकीकृत समिति गठन गरेको छ । समितिको संयोजकमा हुमकान्त नेपाली र उपसंयोजकमा जिवलाल न्यौपाने रहनुभएको छ । समग्र विकासको अवरोध जातीय तथा लैङ्गिक अवरोधको नारा सहित सो समिती गठन गरीएको हो । संस्थाका कोषाध्यक्ष सीतारा नेपालीको अध्यक्षता तथा वडा सचिव हुमलाल न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा वोल्ने वक्ताहरुले एकीकृत समितिको प्रयास बाट समाजमा विद्यमान जातीय विभेदका लैङ्गिक हिंसाका घटनाहरुमा कमी हुने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले एकीकृत समितिमा गैर दलित समेत रहने भएकाले जातीय विभेद एवं छुवाछुत अन्त्य गर्न टेवा पुग्ने बताउनुभएको थियो । कार्यक्रममा महिला संजालकि कमला थापा, दलित संजालकि सुशिला नेपाली, राप्रपा नेपालका जिल्ला सदस्य मेघराज सोनि, राष्ट्रिय जनमोर्चाका यमप्रसाद भट्टराई,वडा नागरिक मञ्चका कमला नेपाली,सितल दलित महिला समुहकि गौरी नेपाली,पशुपति दलित महिला समुहकि सुमित्रा नेपाली,ज्येष्ठ नागरिक जिवलाल न्यौपाने, धनी सुनार लगायतको बोल्नुभएको थियो ।

दलित समुदाय प्रति हुने विभेद एवं छुवाछुत तथा लैङ्गिक हिंसा नियन्त्रण गर्नका लागि सो समिति गठन गरीएको कार्यक्रम संयोजक पोषण सेन्चुरीले जानकारी दिनुभयो । साथै दलित एवं गैरदलित समुदायमा सद्भाव एवं भाइचारा बढाउनु मुख्य उद्देश्य रहेको सेन्चुरीले बताउनुभयो । समितिले मासिक बैठक बसि जातीय विभेद एवं लैङ्गिक हिंसाका घटनामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्घता व्यक्त गरेको छ । समितिलाई सक्रिय वनाउन मासिक रुपमा रु. ५० वचत गर्ने निर्णय पनि गरिएको छ । कार्यक्रमको संचालन संस्थाका सामाजिक परिचालक जानकि विश्वकर्माले गर्नुभएको थियो । कार्यक्रमा २१ जनाको सहभागीता रहेको थियो ।।

प्रकाशित मिति : २०७४ बैशाख २ गते शनिवार
प्रतिक्रिया