२०८२ मङ्सिर २० गते शनिवार

तुलसीपुरको चौथो नगर सभा सम्पन्न

तुलसीपुर, चैत्र २७ 

तुलसीपुर उपमहानगरपालिकाको चौथो नगर सभा सम्पन्न भएको छ । नगर सभाको वैठकले संशोधन सहित ६ वटा विधेयक पारित गरेको छ । नगर सभामा विधायन समितिका संयोजक देवराज विश्वकर्माले प्रस्तुत गर्नुभएको तुलसीपुर विकास वोर्ड गठन सम्वन्धि विधेयक, कृषि व्यवसाय प्रवद्र्धन विधेयक, शिक्षा विधेयक, नवराज लामिछानेले प्रस्तुत गरेको विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन विधेयक, वाल संरक्षण तथा संवद्र्धन नीति र राजु आचार्यले प्रस्तुत गर्नुभएको नगर स्वास्थ्य विधेयक संशोधन सहित पास गरेको छ । नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको वैठकले वार्षिक योजना तथा संशोधन प्रस्ताव पनि वहुमतले पारित गरेको छ ।
सभाले तुलसीपुर विकास वोर्ड गठनको विधेयक पारित गरेसँगै ऐन वनाएर अगाडि वढ्ने छ ।

विधेयकमा उल्लेख भए वमोजिम यसभन्दा अगाडि सञ्चालनमा रहेका उपमहानगरपालिका र तत्कालिन गाविसमा रहेका विभिन्न कोषहरुलाई एकीकृत गरेर परिचालन गर्नका लागि वोर्डमा व्यवस्था गरिएको छ । विधेयकमा विभिन्न दातृ निकायले सहुलियत दरमा उपलब्ध गराएको ऋण सहयोग उपमहानगरपालिकाका निम्न वर्गका जनताको आर्थिक विकास, सामाजिक विकास, उद्यशिलता र रोजगारी विकासका लागि परिचालन गरिने व्यवस्था पनि गरिएको छ । वोर्डले गरीबी निवारणको कार्यमा सहयोग पुर्याउनका लागि आवश्यकता अनुसार पुरक कार्यक्रमको रुपमा आधारभुत स्वास्थ्य, साक्षरता,प्राविधिक शिक्षा, युवा रोजगार तालिम जस्ता सामाजिक परिचालनका कार्यक्रम गर्नेछ । साथै दिगो विकास लक्ष्य हासिल गर्ने, उद्यमशिलता विकास गर्ने र वातावरणीय विकाससँग सम्वन्धित कार्यक्रम समेत गर्ने भएको छ ।

यसैगरी तुलसीपुर उपमहानगरपालिकाको शिक्षा विधेयक पनि संशोधन सहित पारित गरिएको छ । शिक्षा विधेयक पारित भएसँगै शिक्षासँग सम्वन्धित विभिन्न अन्यौलहरु हटेर जाने विश्वास लिएको शिक्षा समितिका संयोजक देवराज विकले वताए । विधेयक पारित भएसँगै उपमहानगरपालिकामा नै विद्यालय सार्न, समायोजन, नाम परिवर्तन गर्न, कक्षा स्थगत वा वन्द गर्ने अधिकार रहने भएको छ । यसै गरी विधेयकमा तोकिएको सीमा भन्दा कम विद्यार्थी संख्या भएका कारण कुनै पनि सामुदायिक विद्यालय तत्काल अन्य विद्यालयमा समायोजन हुने सक्ने अवस्था नभएमा सोही वडाको कुनै माध्यमिक विद्यालयको शाखाका रुपमा सञ्चालन हुन सक्ने व्यवस्था समेत गरेको छ । यसैगरी तुलसीपुर उपमहानगरपालिका भित्र कुनै पनि विद्यालयले कक्षा १ देखि ५ सम्म मातृभाषामा शिक्षा दिन पाउने वाटो खुला गरिएको छ ।
नगर सभाले पारित गरेको नगर विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐनमा उल्लेख भए अनुसार विपद व्यवस्थापनका लागि उपमहानगरपालिकाले छुट्टै आकस्मिक कोषको व्यवस्था गर्ने भएको छ ।

उपमहानगरपालिकाले वार्षिक वजेटबाट स्वीकृति रकमका साथै प्रदेश र संघका साथै विभिन्न दान दातव्यबाट प्राप्त रकम समेत कोषमा राखेर विपद व्यवस्थापनको काम गर्नेछ । यसका साथै कुनै ठाउँमा गम्भिर प्रकृतिको विपद् उत्पन्न भएमा संकटग्रस्त क्षेत्रका रुपमा समेत घोषणा गर्ने प्रावधान विधेयकका राखिएको छ ।
नगरसभाले तुलसीपुर उपमहानगरपालिकाको बाल संरक्षण नीति र नगर स्वास्थ्य विधेयक समेत पारित गरेको छ । नगर सभामा नगरसभा सदस्य सुरेश श्रेष्ठ, अजय वुढाथोकी, मदन वस्नेत, घनश्याम गौतम र युवा करारा लगायतले विभिन्न विधेयकमा संशोधन प्रस्ताव राखेका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र २७ गते बुधवार
प्रतिक्रिया