तुलसीपुर २५ चैत्र । दाङको लमही नगरपालिका वडा नम्वर १ नर्तिमा सुर्य विनायक माध्यामिक विद्यालय छ ।सोहि विद्यालयमा लावाजुनी छात्राबास स्थापना गरिएको छ ।उक्त विद्यालयमा कक्षा १ देखी हाल कक्षा ११ सम्म पढाई हुने गर्दछ ।सरकारले झन्डै एक दशक अघि देखी मुक्त कम्लहरी छात्राहरुका लागी विद्यालयमा छात्राबास स्थापना गरी सन्चालन गरेको थियो । त्यस पछि तत्कालिन जिल्ला विकास समिति , प्लान नेपाल र स्थानिय समुदायको सहयोगमा २०६८ साल फागुन १७ गते सुविधा सम्पन्न छात्राबास भवनको उद्घाटन गरी सन्चालनमा ल्याईएको थियो ।
छात्राबासमा हाल ६७ जना मुक्त कम्लहरी रहेको व्यवस्थापक बृक्षा चौधरीले जानकारी दिएकी छिन् । उनका अनुसार दाङ सहित सल्यान, प्युठान , कैलाली, बर्दिया र जुम्लाका मुक्त कम्लहरी रहेका छन् ।जसमा कक्षा ७ देखी स्नातक तह अध्ययन गर्ने मुक्त कम्लहरीहरु रहेका छन् । उनीहरु मध्ये कतिपय कक्षा ७ देखी कक्षा ११ सम्म सोहि विद्यालयमा अध्ययनरत छन् भने कतिपय उच्च शिक्षाका लागी विभिन्न विद्यालयमा अध्ययनरत छन् ।
उनीहरु बस्ने हरेक कोठामा धार्मिक पर्यटकीय स्थलहरुको नामाकरण गरीएको छ ।दाङ जिल्ला सहित विभिन्न स्थानका धार्मिक पर्यटकीय स्थलका नामहरु समावेश गरिएका छन् । छात्राबासको हरेक कोठामा धारापानी, बागरबाबा, अम्विकेश्वरी , स्वर्गद्धारी, देवीकोट, शिवगढी, रत्ननाथ, सुकौरा दरवार, पशुपति, मनकामना ,मुक्तिनाथ र बागनाथ बाबा लगाएतका धार्मिक पर्यटकीय स्थलका नामद्धारा नामाकरण गरिएको व्यवस्थापक चौधरीले जानकारी दिएकी छिन् ।हरेक कोठा सहजै पत्ता लगाउन सकियोस् भन्ने उद्देश्यका साथ यसरी धार्मिक पर्यटकिय स्थलहरुको नामाकरण गरीएको उनको भनाई छ ।

