कम भ्यूज भएका भिडियोमा यु ट्युबले विज्ञापन नदिने

चैत, २६  ।

विश्वको सबैभन्दा ठूलो भिडियो स्ट्रिमिंग साइट यु ट्युबले आफ्नो विज्ञापन रणनीतिमा महत्वपूर्ण परिवर्तन गरेको छ । सामाग्रीहरुको चोरी रोक्ने उपायका रुपमा यु ट्युबले यस्तो परिवर्तन गरेको हो । जस अनुसार यु ट्युबले १० हजार भन्दा कम भ्यूज भएका च्यानलका भिडियोहरुमा विज्ञापन दिनेछैन । यसबाट पैसा कमाउनका लागि पाइरेटेड तथा आपत्तिजनक भिडियोको प्रयोग गर्नेहरु निरुत्साहित हुनेछन् । यु ट्युबमा भएका आपत्तिजनक भिडियोहरुमा समेत आफ्ना विज्ञापन देखाइएको भन्दै विश्वका विभिन्न चर्चित कम्पनीहरुले यु ट्युबमा विज्ञापन बहिस्कार गर्ने चेतानवी दिएसँगै यु ट्युबले यस्तो कदम चालेको हो ।

यो नयाँ प्रयोग पश्चात यु ट्युबलाई कुनैपनि च्यानलको प्रमाणिकता पुष्टि गर्न विवरण प्राप्त हुने र च्यानलहरुले यु ट्युबको नियम पालना गरे नगरेको पनि पत्ता लगाउन सकिने यु ट्युबका उपाध्यक्ष एरियल बार्डिनले बताए । उनका अनुसार यु ट्युबले यु ट्युबमा भिडियो राखेर पैसा कमाउन चाहने नयाँ सर्जकहरुलाई लक्षित गरी रिभ्यु प्रक्रियाको पनि थालनी गर्दैछ । जब कुनै च्यानलले १० हजार भ्यूज पूरा गर्दछ तब यु ट्युबले उक्त भिडियोको मूल्यांकन गरी त्यसले यु ट्युबको नियम पालना गरे नगरेको पत्ता लगाउँछन् । मूल्यांकनमा पास हुने भिडियोले बल्ल यु ट्युबमा विज्ञापन पाउनेछ ।

प्रकाशित मिति : २०७३ चैत्र २६ गते शनिवार
प्रतिक्रिया