बाँके, २४ फागुन ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेको सरकारी (ऐलानी) जग्गाको लगत खोजेर संरक्षण गर्ने कार्यलाई तीव्रता दिएको छ । उपमहानगरले हालसम्म ४२४ बिघा ३१ कठ्ठा १० धुर जग्गा खोजेर तारबार गरिसकेको छ । उपमहानगरपालिकाले १३२ बिघा १६ कठ्ठा साढे १४ धुर पर्ती जमीन, ७० बिघा १० कठ्ठा पोखरी/ गडहा र ३३८ बिघा साढे सात कठ्ठा साढे चार धुर जङ्गल रहेको सरकारी जमीनको लगत सङ्कलन गरी संरक्षण थालेको छ ।
हालसम्म उपमहानगरको वडा नं २१ मा ३४ बिघा आठ कठ्ठा चार धुर, वडा नं १५ मा १९ बिघा ११ कठ्ठा सात धुर र वडा नं १९ मा १९ बिघा आठ कठ्ठा साढे १३ धुर ऐलानी जग्गा भेटिएको छ । उपमहानगरले खाली तथा कब्जा गरिएका जग्गालाई खाली गराएर संरक्षण गर्न बोलपत्र आह्वानको तयारी गरिरहेको छ ।
“उपमहानगर क्षेत्रमा सरकारी, सार्वजनिक तथा ऐलानी जग्गा हड्प्नेको खोजी भइरहेको छ”, प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले भन्नुभयो । उपमहानगरपालिकाले अहिलेसम्म ४२४ बिघा ३१ दशमलव १० कठ्ठा जमीन खोजी गरी तारबार गरिसकेको बताउँदै उहाँले ऐलानी जग्गामा बनाएका घरटहरा भत्काउन मौखिक निर्देशन दिइसकेको जानकारी दिनुभयो ।


















