बिस करोड मुल्य बराबरको बुद्धको मुर्ती सहित दाङमा चार जना पक्राउ

ओपेन्द्र बस्नेत ,तुलसीपुर चैत २६ ।
करिब २० करोड मूल्य बराबरको सुनबाट निर्मित गौतम बुद्धको मुर्ती सहित चार जनालाई प्रहरीले विहिबार राति पक्राउ गरेको छ । मुर्ती सहित रिम १ सल्यान घर भई कपुरकोट ५ बस्ने खड्क केसी (४०),सोही ठाउँका खिमलाल केसी (५२),सिनवाङ ४ का छवि भण्डारी (४३),र सोही ठाउँ घरभई रोल्पाको गैरी गाऊँ बस्दै आएका तुलबहादुर बुढा(३७)लाई उपमहानगरपालिका १ हर्नेटीबाट जिप्रका दाङ र इप्रका तुलसीपुरको संयुक्त टोलीले पक्राऊ गरेको उच्च प्रहरी स्रोतले जानकारी पर्छ । पक्राऊ परेका खिमलाल केसी स्थायी शिक्षक समेत हुन् । स्रोतका अनुसार उनिहरुलाई प्रहरीले गएराती करिब १० बजे हर्नेटीको स्कुल पछाडीबाट नियन्त्रणमा लिएको हो । उक्त स्कुल जंगलमा छ । उनका अनुसार तस्करहरुले प्रहरीमाथि खुँडा प्रहार गर्न खोज्दा प्रहरीले चार राउन्ड गोली चलाएको थियो ।

प्रहरीको गोली लागि तस्कर छवि भण्डारी घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मुर्ती गोली लागेका केसीले बोकेका थिए । प्रहरीले पक्राऊ परेका भण्डारी र बुढाको साथबाट एक÷एक थान खुकुरी समेत बरामद गरेको छ । उनिहरुले उक्त सुनको मुर्ती कुनै मन्दिरबबाट चोरेर ल्याएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार नियन्त्रणमा लिइएको सुनको मुर्तीको तौल ९ किलो दुईसय ग्राम छ भने उचाई १० ईन्च छ । प्रहरी स्रोतका अनुसार उक्त मुर्ती हल्लाउँदा भित्र केही वस्तु भएजस्तैगरी बज्ने छ । पक्राऊ परेकाले प्रहरीलाई उक्त मुर्ती भित्र बहुमुल्य हिरा भएको बयान दिएको स्रोतको दाबी छ । पक्राऊ परेकाहरुलाई जिप्रकाको हिरासतमा राखिएको छ ।

यसरी समात्यो प्रहरीले २० करोडको मुर्ती सहित चारजना तस्कर
रिम १ सल्यानका खेमलाल केसीको समूहले सुनको मुर्तीको कारोबार गर्छ भन्ने सुराकी दाङ प्रहरीले पायो । अनि, प्रहरीले उनको पिछा गर्न थाल्यो । प्रहरी आफैं गौतम बुद्धको ग्राहक बन्यो । प्रहरीले ग्राहक बनेर मुर्तीको मूल्यमा बार्गेनिङ गरे । तस्करले मुर्तीको मुल्य २५ करोड रुपैंया भने । लामो समयसम्मको मोबाइल फोनको वार्तापछी २० करोडमा कुरा मिल्यो । तस्कर उनिहरुलाई भेट्न मुर्ती ल्याएर आउने भए । उनिहरुबीच सुरुमा तुलसीपुर उपमहानगरपालिका ४ गणेशपुरस्थित पार्क नजिकैको जंगलमा चैत १४ गते भेट्ने कुरा भयो । मुर्ती विक्रिवाला र ग्राहकको भेषमा पुगेका प्रहरीबिच भेट भयो । तर,एम्बुलेन्स सोहि क्षेत्र भएर गएपछि प्रहरी आएको आशंकामा उनिहरु भागे त्यो दिन काम हुन पाएन । यद्यपी प्रहरीले ग्राहक बनेर उनिहरुको पिछा गर्न छोडेन । चैत २१ गते प्रहरी उनिहरुलाई भेट्न छिमेकी जिल्ला सल्यानको कपुरकोट पुग्यो ।

कपुरकोटबाट पनि पैदल हिडेर ४ घन्टा लाग्छ भने पनि पुनः प्रहरी त्यसदिन पनि त्यहाँबाट फर्कियो । तर उनिहरु विच निरन्तर संवाद भने भइरह्यो । उनिहरुबिच तेस्रो पटक भेट्ने कुरा भयो । गएराती ग्राहक बनेको प्रहरी र तस्कर बिच तुलसीपुर–सल्यान सडक खण्डको हर्नेटी स्कुल पछाडी भेट्ने कुरा भयो । दुवै समूह रातको करिब १० बजे त्यहीँ पुगे । ग्राहक बनेर पुगेका सादा पोशाकका प्रहरीलाई सुन तस्करको सुरक्षामा खुकुरी र तरवार सहित खटिएको करिब २०÷२५ जनाको जत्थाले घेरिसको थियो । तस्करले मुर्ती देखाए । जब विक्रेताले मुर्ती बोराबाट निकाले तब ग्राहकको भेषमा पुगेका प्रहरीले आफू प्रहरी भएको भन्दै असली परिचय दिए । प्रहरी भन्ने चिन्नासाथ तस्कर खेमलाल केसीले प्रहरीलाइ ढुङ्गाले हान्न खोजे । त्यस लगत्तै प्रहरीले आफूसँग पेस्तोल निकाले ।

प्रहरीले पेस्तोल निकालेपछी तस्करको सुरक्षार्थ खटिएको जत्था नजिकै आयो । सुरक्षामा खटिएका छवि भण्डारीले प्रहरीको टाउकोमा ताकेर खुकुरी हान्न थालेकै बेला प्रहरीले चार राउन्ड गोली चलायो ।  प्रहरीले गोली चलाएपछी भागाभाग भयो । प्रहरीको टाउकोमा खुकुरी प्रहार गर्न खोज्ने तस्कर भण्डारीको खुट्टामा गोली लाग्यो । प्रहरीले सुनबाट निर्मित गौतम बुद्धको मुर्ती सहित भण्डारी लगाएत चार जना तस्करलाई नियन्त्रणमा लिन सफल भयो । उनिहरु चारैजना जिप्रका दाङको हिरासतमा छन् ।

प्रहरी स्रोत संग गरिएको कुराकनीका आधारमा ।।

प्रकाशित मिति : २०७३ चैत्र २६ गते शनिवार
प्रतिक्रिया