काठमाडौं, चैत २० – सँस्कृतिकर्मी चेतन कार्कीलाई आउँदो वैशाख ५ गते राष्ट्रिय अभिनन्दन गरिने भएको छ । चलचित्र, संगीत तथा भाषा–साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप सँस्कृतिकर्मी कार्कीलाई राष्ट्रिय अभिनन्दन गर्न लागिएको उहाँको सम्मानका लागि गठन गरिएको समितिका संयोजक साहित्यकार प्रकाश सायमीले जानकारी दिनुभयो । सँस्कृतिकर्मी कार्कीलाई नगद एक लाख रुपैयाँसहित अभिनन्दन गर्न लागिएको हो । सँस्कृतिकर्मी कार्कीले नेपाली भाषामा उपन्यास, लघु उपन्यास, गीत, कविता, गजलसहितका साहित्यका विभिन्न विधामा १० भन्दा धेरै पुस्तक लेखिसक्नु भएको छ ।
उहाँको परिचय शिक्षक, सरकारी कर्मचारी, गीतकार, चलचित्रका संवाद लेखक हुँदै निर्देशकसम्म बनेको हो । उहाँले निर्देशन गरेका चलचित्र विश्वास, भूमरी र पहिलो प्रेम हुन् । यी चलचित्रमा उहाँको संवाद, पटकथा र गीत पनि छ । यस्तै उहाँले टेलिभिजन श्रृँखला मनको आँखा पनि निर्देशन गर्नुभएको छ । उहाँले मनको बाँध, सिन्दुर, जीवन रेखासहितका चलचित्रमा संवाद लेख्नुभएको छ । २०२२ सालमा चलचित्र विश्वासबाट निर्देशन सुरु गुर्नभएका उहाँले लेखेका धेरै गीत लोकप्रिय बनेका छन् ।