सुर्खेत,१८
भान्छा छोएको निहुमा सुर्खेतमा एक दलित बालक कुटिएका छन् । सुर्खेत बराहगाउँपालिका–८ कुनाथरी निवासी कक्षा ३ मा अध्ययनरत ९ वर्षिय भीमबहादुर विकलाई भान्छा छोएको निहुँमा भरत शाही र बाटु शाहीले कुटेका हुन् । भीमबहादुरका आमा जयसराका अनुसार उनीहरुले पहिला घरभित्र सामान ल्याउन पठाएर पछि किन भान्छा छोइस भन्दै लौरोले कुटेका हुन् । जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन आउनुभएका जयसराका अनुसार छोरालाई बेहोस हुनेगरी कुटेर घरमा ल्याएर छोडेका थिए । आफु गोठालो गएको र घरमा फर्किदा छोरो घरमा बेहोस अवस्थामा भटिएको उहाँले बताउनु भयो ।
भीबहादुरलाई भरत शाहीले निल डाम बस्ने गरी हिजो साँझ कुटेका थिए । कुटिएको छोरालाई राती घरमा घरेलु औषधी लगाएको र आज मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाँउ सुर्खेतमा ल्याएर उपचार गरिरहेको उहाँले बताउनुभयो । भिमबहादुरका आमाका अनुसार कुटपिटका कारण छोरो अझै राम्रोसंग हिड्डुल गर्न नसक्ने अवस्थामा छन् । उहाले जातिय छुवाछुत विरुद्ध न्याय माग्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनुभएको छ । पिडक पक्षले भने यसबारे अहिलेसम्म केहि प्रतिक्रिया जनाएको छैन ।