सल्यान १ बैशाख । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्वर ३ को वडा कार्यालयको मुलखोलामा नवनिर्मित प्रशासनिक भवनको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । छत्रेश्वरी गाउँपालिका र कर्णाली प्रदेश सरकारको सयुक्त लगानीमा निर्माण भएको सुविधा सम्पन्न भवनको गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले मंगलवार उदघाटन गर्नुभएको हो ।
भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बुढाथोकीले कार्यालय समयको प्रभावकारी कार्यान्वयन तथा सेवाप्रवाहलाई चुस्त बनाउन निर्देशन दिनु भएको छ । उहाले जनप्रतिनिधि र कर्मचारीले समयको पालना, सेवाग्राहीमैत्री वातावरण र कामको गुणस्तर सुधारमा विशेष जोड दिन आग्रह गर्नुभएको हो ।कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित बनाउन समयमै उपस्थित हुने, जिम्मेवारीअनुसार काम गर्ने र सेवाग्राहीसँग मर्यादित व्यवहार गर्न कर्मचारीलाई उहाले निर्देशन दिनु भयो ।
वडा अध्यक्ष तिर्थराज दहालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य हरि केसी, गाउँपालिकाकी उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रशासकिय अधिकृत जिवराज खत्री , पत्रकार माधव दहाल लगाएतले बोल्नु भएको थियो । कार्यपालिका सदस्य पवित्रा डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव देवराज डाँगीले गर्नुभएको थियो ।


















