२०८३ बैशाख १७ गते बिहिवार

संघीयताले आमुल परिवर्तन ल्याएको छ : मुख्यमन्त्री आचार्य

तुलसीपुर, ३० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनतालाई तीन तहका सरकारप्रति अपनत्व महसुस हुने गरी कार्य गर्नुपर्ने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाको आईतवार ३४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै उहाँले स्थानीय, प्रदेश र संघीय सरकारबीच सहकार्य र समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

संविधानको मर्म अनुसार तीनै तहका सरकारले जनअपेक्षा पूरा गर्न प्रतिबद्धताका साथ काम गरिरहेको उहाँको भनाइ थियो । मुख्यमन्त्री आचार्यले संघीयताले विगतको तुलनामा पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याएको दाबी गर्दै यसलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।सो अवसरमा दाङ निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य कमल सुवेदीले संघीयताको भावना अनुरूप स्थानीय तहको कार्यक्षेत्र व्यापक भएकाले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको औंल्याउनुभयो ।

उहाँले दाङको समग्र विकासका लागि आफूले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनताका आधारभूत आवश्यकता पूरा गर्न स्थानीय सरकार अझ जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।नगरप्रमुख टिकाराम खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुलसीपुरका निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले आफ्नो कार्यकालमा समग्र विकासको खाका तयार गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताउनुभयो ।

उपप्रमुख स्यानी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री,प्रमुख जिल्ला अधिकारी विश्वप्रसाद अर्याल, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत , उपप्रमुख स्यानी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री, प्रमुख जिल्ला अधिकार विश्वप्रसाद अर्याल, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, राष्टिय स्वतन्त्र पाटी तुलसीपुरका सभापति जिवन भण्डारी, नेकपा एमाले तुलसीपुर नगर अध्यक्ष रुप बहादुुर खत्री, नेपाली कम्युनिष्ट पाटी तुलसीपुर नगर अध्यक्ष मोहन थापा, श्रम संस्कृति पाटीका टोप बहादुर महतरा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले स्थापना दिवसका सन्दर्भमा वार्षिक गतिविधि प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा विभिन्न क्षेत्रबाट योगदान पु¥याएका करदाता, कर्मचारी, शिक्षक, संघसंस्था, खेलाडी तथा सांस्कृतिक कार्यक्रममा विजेता समूहहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।कार्यक्रमको सहजीकरण सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ चैत्र ३० गते सोमवार
प्रतिक्रिया