काठमाडौ, ३० चैत । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज हुँदैछ । उपचारमा संलग्न चिकित्सकहरुले यसअघि नै शल्यक्रियाको मिति आजलाई तोकेका थिए । पूर्वतयारी अनुसार नै ओलीलाई अपरेसन थिएटरमा राखीएको छ ।डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले उहाको शल्यक्रिया गरेर पित्तथैलीमा रहेको पत्थरी निकाल्ने तयारी छ ।
ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको बताईएको छ ।यसअघि नयाँ सरकार गठन भएको भोलिपल्ट अर्थात गत चैत १४ गते विहान नै ओलीलाई गौरी बहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन छानविन प्रतिवेदनको सिफारिसको आधारमा प्रक्राउ पर्नुभएको थियो । पक्राउ परेको दिनदेखि नै उहा त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनु भएको थियो ।ओलीको गिरफ्तारी लगत्तै ओलीकी पत्नी राधिका गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिनुभएको थियो ।
सर्वोच्च अदालतले २३ चैत बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो ।सर्वोच्चले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा शर्तसहित छाड्न आदेश दिएको थियो । सोही अनुसार प्रहरीले ओलीलाई अस्पतालबाट पत्नी राधिका शाक्यको जिम्मा लगाएको थियो । थुनामुक्त भए पनि शल्यक्रिया गर्नु पर्ने भएकोले उहा अस्पतालमै भर्ना हुनु भएको छ ।


















