काठमाण्डौ , ११ माघ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र नेकपा एमालेबीच साविक राप्ती अञ्चलका जिल्लाहरूमा चुनावी तालमेल भएको छ । सहमतिअनुसार प्रलोपाले दाङ, प्युठान, रोल्पा, रुकुम र सल्यानलगायत जिल्लाहरूमा एमाले उम्मेदवारलाई समर्थन गर्नेछ भने बदला स्वरूप एमालेले रुकुम पश्चिम र रुकुम पूर्वमा प्रलोपाका उम्मेदवारलाई साथ दिने भएको छ । यो तालमेलसम्बन्धी सहमति पत्रमा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाका अध्यक्ष परिषद् सदस्य दुर्गा सोवले हस्ताक्षर गरेका छन्।
सहमति अनुसार रुकुम पश्चिममा प्रलोपाबाट जनार्दन शर्मा ‘प्रभाकर’ र रुकुम पूर्वमा सन्दीप पुन उम्मेदवार रहेका छन् । यी दुवै उम्मेदवारलाई एमालेले औपचारिक रूपमा समर्थन गर्नेछ । उता साविक राप्ती अञ्चलका अन्य जिल्लाहरूमा प्रलोपाले एमाले उम्मेदवारको पक्षमा उभिने निर्णय गरेको छ । दाङ क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार रेवतीरमण शर्मा, क्षेत्र नम्बर २ मा महासचिव शंकर पोखरेल र क्षेत्र नम्बर ३ मा तुलसीपुर उपमहानगरपालिकाका पूर्वमेयर घनश्याम पाण्डेलाई प्रलोपाको समर्थन रहनेछ ।
यसैगरी प्युठानमा सूर्य थापा, रोल्पामा गोकुल घर्ती र सल्यानमा गुलाबजंग शाह एमालेका उम्मेदवार रहेका छन । रुकुम पूर्वमा एमालेबाट उम्मेदवार रहेका लिलामणि गौतमले अब प्रलोपाका उम्मेदवार सन्दीप पुनलाई सहयोग गर्ने भएका छन् भने रुकुम पश्चिममा एमाले उम्मेदवार नन्दराम देवकोटाले पनि केन्द्रमा भएको सहमति अनुसार प्रलोपाका नेता जनार्दन शर्मालाई समर्थन गर्ने भएका छन्। सल्यानमा प्रलोपाबाट उम्मेदवारी दिएका सन्तोषकुमार राईले एमाले उम्मेदवार गुलाबजंग शाहलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन्।



