दाङ, ५ माघ । प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार मनोनयनको पूर्व सन्ध्यामा रास्वपाका नेता हरि रिजालले असन्तुष्टि व्यक्त गर्नुभएको छ । रिजालले सामाजिक संजाल फेसवुकमा नेपालको राजनीतिमा केन्द्रमा बसेर शक्ति केन्द्रहरुलाई खुशी पार्ने व्यक्तीहरुको हालीमुहाली हुने बताउनु भएको छ । उम्मेदवारको मनोनयनको मिती भोली तोकिएको छ ।
“नेपालको राजनितिमा केन्द्रमा बसेर शक्ति केन्द्रहरुलाई खुसि पारे हुन्छ, समुदायमा केहि योगदान र परिचयको मतलबछैन । केहि गर्नु पनि पर्दैन । जय नेपालि राजनिति !” रास्वपाका नेता रिजालले आफ्नो फेसवुक पेजमा लेख्नु भएको छ । रिजाल रास्वपाको उत्पादन पर्वद्धन विभागका केन्द्रिय उपप्रमुख हुनुहुन्छ । रास्वपाले गएराति दाङ क्षेत्र नं ३ मा उम्मेदवारको टुङ्गो लगाएपछि रिजालको यस्तो असन्तुष्टि पोखिएको हो ।
निजी क्षेत्रबाट तलसीपुरमा पहिलो हस्पिटल, राप्ती लाइफ केयर , कृषि कलेज, सहकारी, पर्यटन जस्ता संस्थाको सफल नेतृत्व गरेका रिजाल पश्चिम दाङका लागि परिचित नाम हो । सक्ती केन्द्र धाउने र उनिहरुलाई खुशी पार्ने व्यक्ती नै हाबी हुने भएकाले नयाँ पुराना दलमा खासै भिन्नता नभएको आशय समेत उहाँले व्यक्त गर्नुभएको छ । रिजाल यसपटक उम्मेदवारका लागि आकांक्षी हुनुहुन्थ्याे ।

त्यसैगरी रास्वपाको संगठन निर्माण र विस्तारमा सक्रिय पूर्वक लागेका र भूगोलमा समेत राम्रो गरि भिजेका युवा नेता हरिभक्त डाँगीलाइ पनि पार्टीको निर्णय प्रति खासै चित्त बुझेको छैन । विगतमा पार्टीबाट असन्तुष्टि भएर बाहिरिएकालाई समेत समेटेर एकतावद्ध तवरले अगाडी बढाउन सक्ने क्षेमता भएका डाँगी टिकटका लागि काठमाण्डौ जानु भएको थियो ।
उहाँले सामाजिक संजाल फेसवुकमा लेख्दै आफुले रास्वपाबाट टिकट पाएमा जित्न सक्ने बलियो आधारहरु समेत प्रस्तुत गर्नुभएको थियो । तर उहाँलाई पार्टीे उम्मेदवार बनाएन । ३ सय ६५ दिनमा अधिकाँस समय पार्टीको काममा गाउँ गाउँमा खट्दै आएका डाँगीले यसपटक आफूलाई रास्वपाले न्याय गर्छ भन्नेमा ढुक्क हुनुहुथ्यो ।




