२०८२ फाल्गुन १ गते शुक्रवार

तुलसीपुर उपमहानगरको गाउँ केन्द्रित सत्ता अभ्यास : जनताको आँगनमै निर्णय

तुलसीपुर, २४ पुस । तुलसीपुर उपमहानगरपालिकाले पछिल्लो समय महत्वपूर्ण सभा तथा बैठकहरू गाउँ केन्द्रित गर्दै स्थानीय सरकार जनताको नजिकै रहेको सन्देश दिन थालेको छ। यसअघि प्रायः शहर केन्द्रित र हलभित्र सीमित रहने कार्यपालिका बैठक तथा नगरसभा अब बस्तीस्तरमै आयोजना हुन थालेका छन्।

यसै क्रममा पुस १३ गते तुलसीपुर–८ अश्वारास्थित मेट्रो अस्पतालमा उपमहानगर कार्यपालिकाको ४२ औँ बैठक सम्पन्न भएको थियो। सोही दिन सार्वजनिक सुनुवाइसमेत आयोजना गरिएको थियो। यस्तै, आज उपमहानगर कार्यपालिकाको ४३ औँ बैठक बसेको छ भने उपमहानगरपालिकाको १८ औँ हिउँदे नगरसभा पनि सम्पन्न भएको छ। उपमहानगरपालिकाको कार्यालयदेखि कार्यक्रम स्थल करिब पाँच किलोमिटर टाढा पर्दछ।

यसअघि कार्यपालिकाको एक बैठक तुलसीपुर–३ थर्कोट जस्तो विकट क्षेत्रमा सम्पन्न गरिएको थियो।  नगरप्रमुख टिकाराम खड्काले सभा र बैठक गाउँमै गरेर स्थानीय सरकारले जनताको प्रत्यक्ष अनुभूति दिलाउने उद्देश्य राखेको बताउनुभयो ।  “स्थानीय सरकार सिंहदरबारमा होइन, जनताको आँगनमै छ भन्ने सन्देश दिन गाउँ केन्द्रित कार्यक्रम गरिरहेका छौँ,” नगरप्रमुख खड्काले भन्नुभयो ।

कार्यक्रम स्थल रहेको तुलसीपुर उपमहानगरपालिका–८ का वडा अध्यक्ष धर्मराज वलीले पनि यस कदमले स्थानीयवासी उत्साहित भएको बताउनुभयो । “नगरपालिकाका महत्वपूर्ण बैठक आफ्नै वडामा हुँदा जनताले अपनत्व महसुस गरेका छन्, विकास र निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागिताको भावना बढेको छ,” वडा अध्यक्षले प्रतिक्रिया दिनुभयो । गाउँ केन्द्रित कार्यक्रममार्फत पारदर्शिता, सहभागिता र जवाफदेहिता बढाउने उपमहानगरपालिकाको यो अभ्यासलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।

प्रकाशित मिति : २०८२ पुष २४ गते बिहिवार
प्रतिक्रिया