

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। ऊर्जामन्त्री भएको १ सय १५ दिनमा बुधबार राति प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।
गत भदौ ३० गते ऊर्जामन्त्रीमा नियुक्त भएका घिसिङलाई भौतिक योजना तथा यातायात तथा सहरी विकास मन्त्रालयको समेत अतिरिक्त जिम्मेवारी दिइएको थियो। तर, राजनीतिमा सक्रिय भूमिकामा देखिन थालेपछि प्रधानमन्त्री कार्कीले मार्गप्रशस्त गर्न सुझाएपछि उनले मन्त्री पद त्याग्ने निर्णय लिएका हुन्।
राजीनामापछि पत्रकार सम्मेलनमार्फत बोल्दै घिसिङले अब पूर्ण रूपमा राजनीतिक यात्रामा केन्द्रित हुने संकेत गरेका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच भएको सहमतिअनुसार आगामी प्रतिनिधिसभा निर्वाचनमा संयुक्त रूपमा अघि बढ्ने स्पष्ट पारे।
गत पुस १४ गते रास्वपा र उज्यालो नेपाल पार्टीका संरक्षक घिसिङबीच ७ बुँदे सहमति भएको थियो। सो सहमतिअनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्ने र घिसिङ रास्वपाको दोस्रो वरीयताको नेता तथा उपसभापति बन्ने समझदारी भएको छ।
मन्त्री पदबाट राजीनामासँगै कुलमान घिसिङको राजनीतिक यात्रा अब नयाँ चरणमा प्रवेश गरेको छ, जसलाई नेपाली राजनीतिले चासोका साथ हेरिरहेको छ।

