दाङ,१ पुस । दाङमा चालु आर्थिक वर्षको चार महिनामा घरेलु तथा साना उद्योग व्यवसायमा ४९ करोड बढी लगानी गरिएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को कात्तिक मसान्तसम्म जिल्लामा घरेलु तथा साना उद्योग व्यवसायमा ४९ करोड ६४ लाख ९० हजार रुपियाँ लगानी घरेलु तथा साना उद्योग कार्यालय दाङले जनाएका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो । जिल्लामा लगानी भएको ४९ करोड ६४ लाख ९० हजारमध्ये उद्योगतर्फ २५ करोड १५ लाख ४० हजार र वाणिज्यतर्फ २४ करोड ४९ लाख ५० हजार रुपैयाँ लगानी भएको छ ।
चार महिनाको अवधिमा उद्योग र वाणिज्य गरी तीन सय ७७ वटा फर्म दर्ता भएका छन् । जसमा एक सय ५० वटा उद्योग र दुई सय २७ वटा वाणिज्य फर्म दर्ता भएका हुन् । जिल्लामा थपिएका उद्योग तथा व्यवसायमा पुरुष एक सय ३६ जना र महिला एक सय १६ जना गरेर दुई सय ५२ जना उद्यमी थपिएका छन् । तीन सय ७७ वटा उद्योग व्यवसाय थपिदा जिल्लामा तीन सय ५४ जना पुरुष र दुई सय २८ जना महिला गरी पाँच सय ८२ जनाले रोजगारी प्राप्त गरेकाको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।।



