तुलसीपुर, २३ मंसिर । दाङ भ्याली यातायात प्रा।लिमा दर्ता आबद्धता लिई सञ्चालनमा रहेका यातायात व्यवसायी, पदाधिकारी, कर्मचारी र उनीहरुका परिवारलाई तुलसीपुर सिटी अस्पतालले औषधी उपचारमा सहुलियत दिने भएको छ । मंगलबार एक कार्यक्रमकाबिच दाङ भ्याली यातायात प्रा.लिका अध्यक्ष महेन्द्र महरा र तुलसीपुर सिटी अस्पतालका निर्देशक हेमराज बस्नेतले सहुलियत प्रदान गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । सो अवसरमा तुलसीपुर सिटी अस्पतालका निर्देशक हेमराज बस्नेतले अटो टेम्पो व्यवसाय निम्न वर्गीय व्यक्तिले गर्ने व्यवसाय भएकाले सर्वसुलभ सहुलियत रूपमा स्वास्थ्यको पहुचमा सबैलाई जोड्न छुट सुविधा प्रदान गरिएको बताउनुभयो ।
अस्पतालले संस्थाका पदाधिकारी, कर्मचारी र सम्बद्ध अटो चालकहरु तथा उनीहरुका परिवारलाई ब्लड सुगर चेकजाँचमा १०० प्रतिशत, फिजियोथेरापी र ल्याब टेस्टमा १५ प्रतिशत, बेड र डाक्टर चार्जमा १० प्रतिशत , मेजर तथा माईनर अपरेसनमा १० प्रतिशत र फार्मेसीमा ७ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । अस्पतालले सवारी दुर्घट्नामा घाइते भएकाहरुको उपचारमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको र विभिन्न समयमा सामाजिक उत्तरदायित्वका कामहरू गर्दै आएकोमा दाङ भ्याली यातायात प्रा।लिका अध्यक्ष महेन्द्र महराले धन्यवाद व्यक्त गर्नुभयो । दुबै पक्षबिच भएको सम्झौताले अटो चालकहरु र परिवारलाई बिषेश सहयोग हुने बताउनुभयो ।।



