२०८२ माघ २ गते शुक्रवार

दाङको खानेपानी कार्यालयका प्रमुख र इन्जिनियसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

तुलसीपुर, २३ मंसिर ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ठेक्कामा बढी कबोल रकम गरेर दिएको र ठेक्काको मुचुल्का नपठाएको उजुरीका आधारमा अनुसन्धान गर्दा तत्कालीन डिभिजन प्रमुख भोलाप्रसाद थापासहित इन्जिनियर वसन्तकुमार दुलाल, लेखापाल मनोज विष्ट, अधिकृत माधवप्रसाद तिमिल्सेना, सब इन्जिनियर नुतन आचार्यविरुद्ध अख्तियारले मङ्गलबार विशेष अदालत, काठमाडौंँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ का दफा १७ बमोजिम कसुर भएका हुँदा ११ लाख ११ हजार आठ सय ४४ रुपैयाँ बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका सहायक प्रवक्ता तथा सूनचा अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको दिनमा नै उनीहरु विरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरिएको हो । अख्यितयारले जय काली ड्रिलिङ्ग्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि र सोका प्रबन्ध निर्देशक शेखर शर्माविरुद्धसमेत सोही बिगो बराबर मुद्दा दायर गरेको छ । २०८०/०८१ मा भएको ठेक्कामा हिनामिना भएको उजुरीका आधारमा अनुसन्धान अगाडि बढाएको आयोगले आज मङ्गलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । सरकारी कर्मचारीहरुबाट पछिल्लो समय बढि भ्रष्टाचार हुने गरेको भन्दै सहायक प्रवक्ता अधिकारीले यसतर्फ कर्मचारी पनि सचेत हुनुपर्ने बताउनुभयो । भ्रष्टाचार सबैले गर्ने हो र नियन्त्रण चाही अख्तियारले मात्रै गर्ने हो भन्ने बुझाई रहेको भन्दै उहाँले यसलाई चिर्न आवश्यक रहेको बताउनुभएको छ ।।

प्रकाशित मिति : २०८२ मङ्सिर २३ गते मङ्गलवार
प्रतिक्रिया