२०८२ माघ २ गते शुक्रवार

प्रयोगात्मक संस्कृत भाषा व्याकरण लोकार्पण

तुलसीपुर, २३ मङ्सिर । नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक हरिलाल पौडेलद्घारा रचना गरिएको प्रक्रियासार कौमुदी ( प्रयोगात्मक संस्कृत भाषा व्याकरण)को लोकर्पण गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा भागवतप्रसाद शर्मा र विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक भोजराज जोशीले लोकार्पण गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सेवा आयोगका अध्यक्ष प्राध्यापक डाक्टर भागवतप्रसाद शर्माले प्रसव बेदनाभन्दा बढी सङ्घर्ष गरेर प्रकाशन गरिएको पुस्तकले विश्वविद्यालयको प्राज्ञिक कर्ममा टेवा पुग्ने बताउनुभयो । उहाँले पछिल्लो समयमा संस्कृत भाषा र नेपाली भाषा व्याकरणमा देखिदै आएका समस्याहरूको पुस्तकले निराकरण गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय विद्यापीठका सहप्राध्यापक डाक्टर रघु नेपालले किताबमा आधुनिक शिक्षाबाट संस्कृत शिक्षामा अध्ययन गर्न आउने विद्यार्थीका लागि निकै सहज हुने बताउनुभयो । उहाँले किताब पाठ्यक्रममा आधारित रहेकाले संस्कृत भाषा सिक्नेका लागि उपयोगी हुने बताउनुभयो ।

केन्द्रीय आयुर्वेद विद्यापीठका उपप्राध्यापक डाक्टर नीलकण्ठ आचार्यले पुस्तक आयुर्वेद स्नातक तह(विएएमएस)मा अध्ययरत विद्यार्थीहरूले अध्ययन गर्ने चरक संहित,सुश्रुत संहिताजस्ता विषयमा ज्ञान प्राप्त गर्नका लागि सहज हुने बताउनुभयो । केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डीको आयोजनामा पुस्तकको लोकार्पण गरिएको हो ।

केन्द्रीय आयुर्वेद विद्यापीठका प्राचार्य प्राडा रामचन्द्र अधिकारीको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो । पुस्तकको प्रकाशक दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान रहेको छ । कार्यक्रमको सञ्चालन केन्द्रीय विद्यापीठका उपप्राध्यापक राजन सिग्देलले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ मङ्सिर २३ गते मङ्गलवार
प्रतिक्रिया