काठमाडौं, १८
दुई नम्बर प्रदेशका ६ जिल्लामा पुरानै मतदान केन्द्र कायम हुने सम्भावना बढेको छ । बारा र पर्साबाहेक दुई नम्बर प्रदेशका अरु जिल्लाले अझै केन्द्र तोक्न नसकेपछि आयोग आफैंले निर्धारण गर्ने तयारी गरेको हो । शनिबारसम्म पनि जिल्लाबाट प्रस्ताव नआए यसअघिकै मतदान केन्द्रलाई कायम गर्ने तयारी भएको आयोग स्रोतले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकतत्वमा रहने मतदानस्थल सिफारिस समितिले जिल्लामा कहाँ मतदान केन्द्र राख्ने भनेर आयोगलाई सिफारिस गरेर पठाउनुपर्नेमा ६ जिल्लामा दलहरुबिच विवाद हुँदा टुंगो लाग्न नसकेको हो ।
मधेसवादी दलहरुको अवरोध, निर्वाचन कार्यालयमा तालाबन्दी लगायत कारणले पनि ती जिल्लामा केन्द्र तोक्न ढिलाई भएको छ । अरु जिल्लाले पठाएका सिफारिसलाई अन्तिम रुप दिने काम भैरहेकाले बाँकी ६ जिल्लालाई शनिबारसम्म पर्खने र नभएमा आफैंले केन्द्र निर्धारण गर्नेगरी आयोगले गृहकार्य अघि बढाएको छ । आइतबार २० गते मतदान केन्द्र र मतदाता नामावलीको टुंगो सँगसँगै लगाउने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । २१ गतेपछि आयोगले मतदाता परिचयपत्र बनाउन थाल्नेछ ।