दाङ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमालेले नेतृत्व गरेको विगतको दुई–तिहाई सरकारले केही गर्न नसकेको भन्दै कडा टिप्पणी गर्नु भएको छ । शनिबार लमहीमा आयोजित लुम्बिनी प्रदेश स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले चुनाव जितेपछि मात्र सरकारको सफलता सुनिश्चित नहुने स्पष्ट पार्नुभयो ।
“चुनाव जितेर मात्रै केही हुँदैन रहेछ । यदि जितेरै हुने हो भने त अस्तिसम्म कांग्रेस र एमालेको दुई–तिहाई थियो । त्यसले के नाप्यो ? अन्त्यमा त हेलिकप्टर चढेर भाग्नुप¥यो । दुई–तिहाईले पनि केही गर्न सक्दैन रहेछ ।” संयोजक दहालले भन्नुभयो । जनताको समर्थन र विश्वास बिना कुनै पनि सरकार दीगो हुन नसक्ने यथार्थ कांग्रेस–एमालेको दुई–तिहाई पतनले देखाएको उहाँले बताउनुभयो ।
उहाँले कांग्रेस–एमाले नेतृत्वप्रति कटाक्ष गर्दै अहंकार र दम्भ आज पनि बाँकी रहेको आरोप लगाउनुभयो । “मैले सदनमै भनेको थिएँ—तपाईंहरूलाई दुई–तिहाईको घमण्ड छ, तर जनता तपाईंहरूसँग रुष्ट भइसकेका छन् । एक दिन जनताले यहीँबाट लखट्ने छन । त्यो भयो पनि । तर आज पनि मिस्टर ओलीहरू त्यसलाई प्रचण्डले गराएको भन्छन् । उनीहरूले आफ्नै कुकर्मको परिणाम हो भन्ने बुझ्न सकेका छैनन् ।”



