तुलसीपुर, ७ कात्तिक । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले कात्तिक १४ गतेसम्म विद्युत लाइन अवरुद्ध हुन सक्ने बताएको छ । बुटवल–मोतीपुर १३२ के.भी. लाइन मर्मत तथा स्तरोन्नतिको काम मर्मत भइरहेको भन्दै केही दिनका लागि विद्युत् आपूर्ति अवरुद्ध हुन सक्ने प्राधिकरणका प्रमुख सुरेश महतवले जानकारी दिनुभयो ।
प्राधिकरणका अनुसार बुटवल क्षेत्रमा रहेको उक्त प्रसारण लाइनमा हाल प्रयोग भइरहेको चारवटा ल्याटिस टावरलाई आधुनिक मोनोपोल टावरले प्रतिस्थापन गर्ने काम भइरहेको छ । यस्तो काम गर्दा कात्तिक ८ गतेदेखि १४ गतेसम्म लाइनका दुवै सर्किट बन्द गरिने भएकाले यो अवधिमा प्रभावित क्षेत्रमा बत्ती जान सक्ने भएकाले सबै उपभोक्तालाई सचेत रहन अनुरोध गरिएको छ ।
‘मर्मत गर्दा लाइन आउने जाने हुनसक्छ । लाइन जान्छ भन्ने ग्यारेन्टी त छैन नजान पनि सक्छ । उपभोक्तालाई समयमै जानकारी भयो भने सजिलो होला भन्ने हो ।’ प्रमुख महतवले भन्नुभयो । यसबाट पर्न सक्ने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले क्षमायाचना गरेको छ ।



