निर्वाचन नभए देशमा उथलपुथल हुने एमाले नेता खनालको भनाई

काठमाण्डौ,१७
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले स्थानीय निकायको निर्वाचन तोकिएको मितिमा नभए देशमा उथलपुथल हुने बताउनुभएको छ । चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले निर्वाचन समयमा हुन नदिन षड्यन्त्र भइरहेको धारणा राख्नुभयो । अहिलेको सरकारले निर्वाचन स्थगित गर्न कोसिस गरिरहेको आरोप लगाउँदै उहाँले निर्वाचन गर्ने आँट सरकारले गर्नुपर्छ भन्नुभयो ।

नेकपा (एमाले)ले स्थानीय निर्वाचनका लागि उम्मेदवार चयनको काम सुरु गरिसकेको छ भन्दै महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख केन्द्र र अन्य निकायको प्रदेशले उम्मेदवारी चयन गर्ने र चाँडै नै सबै उम्मेदवारी तय हुने उहाँले जानकारी दिनुभयो । तराईमा फेरि एमालेले कार्यक्रम गर्ने भन्दै उहाँले यसअघि मधेसी मोर्चाको गैर जिम्मेवारीपूर्ण क्रियाकलापका कारण सप्तरी घटना भएको बताउनुभयो ।।

प्रकाशित मिति : २०७३ चैत्र १७ गते बिहिवार
प्रतिक्रिया