हुम्ला २२, असोज । हुम्लाको दुर्गम गाउँपालिका चंखेलीमा विकासको सपना उडानमा चढेको छ । स्थानीय विकासका लागि छुट्याइएको बजेट पालिकाका पदाधिकारीहरूले चीन सिमानासम्म हवाई सैर गर्न प्रयोग गरेको आरोप लागेको छ।
गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीको नेतृत्वमा गत साउन २७ र २८ गते सदरमुकाम सिमकोटदेखि टाँके नाका (चीन सिमाना) सम्म पाँचपटक हेलिकप्टर उडान गरिएको स्रोतले बताएको छ।
यस यात्रामा नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, चंखेली–१ का वडाध्यक्ष गोविन्द बोहरा, वडा–५ का वडाध्यक्ष हर्कधन तामाङ, र वडा–६ का वडाध्यक्ष जयबहादुर सिंरा समेत सहभागी थिए। भ्रमण खर्चका रूपमा करिब नौ लाख रुपैयाँ विकास बजेटबाटै निकालिएको र सिम्रिक एयरलाई भुक्तानी दिने प्रतिबद्धता पत्रमै उल्लेख भएको खुलेको छ।
चंखेली गाउँपालिका–५ नेप्का गाउँका बासिन्दा अझै पनि स्वास्थ्यचौकी पुग्न एक दिन पैदल हिँड्न बाध्य छन्। भिरालो बाटो, जोखिमपूर्ण यात्रा र उपचारको अभावबीच भर्खरै एकजनाको ज्यान समेत गएको छ। त्यहीबीच जनप्रतिनिधिको हेलिकप्टर सवारीबारे खबर सुन्दा स्थानीयहरू आक्रोशित छन्। ‘त्यो रकमले खोलानालामा पुल बनाएको भए जनता बाँच्थे, तर नेताहरू उडे,’ नेप्काका एक स्थानीयले भने।
अध्यक्ष शाहीको तर्क
तर, गाउँपालिका अध्यक्ष शाहीले यो भ्रमणलाई औचित्यपूर्ण ठहर गर्दै भने, ‘हेलिकप्टर चढ्नु विलासिता होइन, आवश्यकता हो। चीनसँग व्यापारिक सहकार्यका लागि टाँके नाकासम्म पुग्न हेलिकप्टर आवश्यक थियो।’
उनका अनुसार गाउँपालिकामा पाइने जडीबुटी र स्थानीय उत्पादनहरू चिनियाँ बजारमा पुर्याउने योजनाका लागि चीनका अधिकारीहरूसँग वार्ता गरिएको हो। ‘चीनबाट उपभोग्य सामान ल्याउन र सडक सञ्जाल विस्तारमा सहयोगका विषयमा वार्ता सफल भएको छ,’ शाहीले दाबी गरे।


















