तुलसीपुर, ३१ भदौ । तुलसीपुर उपमहानगपालिका १२ का अशोक चौधरीको परिवार रोजगारीको शीलशीलामा काठमाण्डौँ बस्दै आएको छ । हाल छोराछोरीको पढाई चलिरहेको छ । उहाँ आउँदै गरेको दशैँ मनाउन र छोराछोरीको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका कागजात बनाउने कामसँगै सकेर फर्किने पूर्व योजनामा हुनुहुन्थ्यो । तर देशमा भएको विषम परिस्थितिले सरकारी कागजात बनाउन पाइएला कि नपाइएला भन्दै चिन्तित हुनुहुन्छ । ‘सधैँसधैँ काम छोडेर घर गइरहने कुरा हुँदैन । दशैँमा ठिकै होला भन्ने सोच बनाएको थिए । इलाका प्रशासन कार्यालयको अवस्था विजोक छ । काम बन्ने नबन्ने बारे टुङ्गो नलाग्दा दोधार बनाएको छ ।’ उहाँले भन्नुभयो ।
अशोक मात्रै होइन यस्तै समस्यामा केंयौँ नागरिकहरु हुनुहुन्छ । जसले सरकारी कागजको लागि दशैँको पूर्वसन्ध्याको कार्यालय समय पर्खेर बसेका थिए । देशको नागरिक हुँ भनेर चिनाउने प्रमाणपत्र दिने नै देशका जिल्लाप्रशासन र इलाका प्रशासन कार्यालयहरु नै हुन् । अहिले तीनै संरचना र सिस्टम जलाएर ध्वस्त बनाएइपछि कैंयौ नागरिक चाहेको बेला आप्mनो पहिचान खुलाउने कागजात बनाउन पाएका छैनन् । नागरिकता, रष्ट्रिय परिचयपत्र, विभिन्न जातजाती चिनाउने प्रमाणित पत्र, वैदेशिक रोजगारमा जानेहरु राहदानी बनाउन नपाउँदा समस्यामा परेका छन ।

यता जेनजी पुस्ताको आन्दोलनका कारण जलेर ध्वस्त भएको इलाका प्रशासन कार्यालय तुलसीपुरले दिने सेवाबारे अझै अनिश्चित छ । कार्यालयको भवनमा भदौ २४ गते आन्दोलनकारीले आगजनी गरेपछि भवनसहित यहाँ रहेको सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । कार्यालय सरसफाइ गर्दा पनि बस्न योग्य नभएपछि सेवा प्रवाहबारे अन्योल रहेको कार्यालयका प्रमुख महेश कुमार गुरुङले जानकारी दिनुभयो । ‘कार्यालयका न कुनै सामान बचेका छन् । न त झ्याल ढोका नै । बस्ने कुर्सी छैनन् । सेवा ग्राहीहरुको अत्यन्त्यै भिडभाड हुने प्रशासन कार्यालयको अवस्था नाजुक छ तर पनि सेवा दिनुपर्ने छ ।’ उहाँले भन्नुभयो ।
नागरिकता शाखा, प्रतिलिपि शाखा, राष्ट्रिय परिचयपत्र शाखा, राहदानी र अभिलेख शाखा सबै खरानी भएको छ । केही पनि काम लाग्ने अवस्थामा छैन भने अन्य शाखाहरुमा पनि क्षति पुगेको छ ।कार्यालयको पहिलो तलाका केही कोठाहरु मर्मत गरेर पनि बस्न अयोग्य हुने गरी जलेको उहाँले बतनाउनुभयो । अनुगमनमा आएका भवनका प्राविधिकहरुले केही कोठाहरुमा नबस्न मौखिक सुझाव दिनु भएको छ । ‘तिनचार वटा कोठा पस्न लायक छैन । तत्कालका लागि ती कोठाहरुमा नबस्न मौखिक सुझाव आएको छ । वयरिङ, नेट केही पनि छैन । कहाँ बसेर कसरी सेवा दिने भन्ने अन्यौल छ ।’ तै पनि माथिल्लो निकायसँग छलफल भैरहेको छ । छलफलबाट निष्कर्ष आयो भने सेवा सुरु हुन्छ ।’
कार्यालयको भवनदेखि कार्यालयका कम्प्यूटर, प्रिन्टर, विभिन्न फाइलहरु, नागरिकता शाखा, राष्ट्रिय परिचयपत्र शाखा, जलेर सबै खरानी बनेका छन् । कार्यालयमा रहेका करिब ७ सय राहदानी पनि जलेका छन् । कुनै पुरै जलेका छन् । कुनै च्यातिएको, कुनै आधा जलेको अवस्थामा भेटिए पनि काम भने लाग्ने अवस्थामा छैन ।
‘राहदानीमा व्यक्तिगत विवरणहरु हुने भएकाले एक जनाको नाममा रहेको कुनै दोस्रो व्यक्तिले प्रयोग गर्न त मिल्दैन तर कतै व्यक्तिगत विवरण नचाहिने ठाउँमा दुरुपयोग हुन्छ कि भन्ने हो’ त्यसैले कसैले राहदानी लगेको भए फिर्ता गरिदिन पनि आग्रह गर्नु भएको छ । यस्तै इलाका प्रशासन कार्यालयको एउटा मोटरसाइकलमा आगजनी भएर खरानी बनाइयो । अन्य सवारी साधन भने प्रहरी कार्यालयमा समयमै पु¥याइएकाले सुरक्षित छन् । नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन प्रयोग गरिने सिस्टमहरुलाई संचालन गर्नका लागि माथिल्लो निकायसँग छलफल भैरहेको कार्यालय प्रमुद महेश गुरुङले बताउनु भयो । तर अत्यावश्यक भए जिल्ला प्रशासन कार्यालयमा गएर काम गर्न पनि उहाँले आग्रह गर्नु भएको छ ।

कार्यालयमा आर्थिक रुपमा कति क्षति भयो भन्ने बारे भने एकिन गर्न नसकिएको कार्यालय प्रमुख गुरुङले बताउनुभयो । उहाँका अनुसार कार्यालयमा रहेको सम्पूर्ण सामग्रीहरुको तथ्याँक राख्ने पाम्प सर्भर सिष्टम नखुलेका कारण एकिन विवरण निकाल्न सकिएको छ्रैन । सबै सामानहरुको तथ्याँकदेखि लागत तथा खरिद मूल्यका सम्पूर्ण विवरण त्यही सिस्टममा समावेश रहेकोले मुचुल्का तयार गरेपनि आर्थिक रुपमा एकिन गर्न नसकिएको बताउनु भयो । आगजनीपछि कार्यालयका सम्पूर्ण कर्मचारीहरुले करिब ३।४ दिनदेखि सरसफाइ गरिरहेका छन् । तर पनि सरसफाइको काम सकिएको छैन । सरसफाइको काम आज पनि चलिरहेको छ ।
कार्यालयमा कतिपय कम्प्युटर, ल्यापटप, प्रिनटर, दराजहरु, पलङ, लगायतका सामानहरु चोरी भएको छ । चोरी भएका तथा हराइएका सामग्रीहरु सम्बन्धित कार्यालय वा इलाका प्रहरी कार्यालयमा बुझाउन आग्रह पनि गर्नु भएको छ ।इलाका प्रशासन कार्यालय तुलसीपुरले दाङको तुलसीपुर उपमहानगरपालिका, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिका गरी चार स्थानिय तहका नागरिकलाई सेवा प्रदान गर्दै आएको छ ।।













