काठमाण्डौ, २८ असार । रुसको बढ्दो हवाई आक्रमणकाबीच अमेरिकाले युक्रेनलाई पुनः सैन्य सहायता दिन तयार भएको युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बताउनु भएको छ । गएको हप्ता रोकिएको सहायता फेरि शुरू भएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोमार्फत युक्रेनलाई पेट्रियट हवाई रक्षा प्रणाली पठाउने सम्झौता भएको बताउनु भएको छ । यसअघि युक्रेनले १० वटा पेट्रियट प्रणालीको माग गरेको थियो । जर्मनी र नर्वेले युक्रेनका लागि केही प्रणालीको खर्च बेहोर्ने प्रतिबद्धता जनाएको जेलेन्स्कीले बताउनुभएको छ ।
अन्य युरोपेली देश पनि सहायता दिन इच्छुक छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युरोपेली देशहरूलाई आफूसँग रहेका प्रणाली तुरुन्त युक्रेनलाई हस्तान्तरण गर्न आग्रह गर्नुभएको छ । पछिल्लो समय युक्रेनमाथि भएका रकेट, ड्रोन र क्षेप्यास्त्र आक्रमणका कारण जुन महिनामा मात्रै २३२ नागरिकको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।युक्रेनको ठूलो देश भएकोले सबै क्षेत्रमा रक्षा गर्न सम्भव नहुने भए पनि बढ्दो खतरा देखेर पश्चिमा देशहरुले आपूर्ति बढाउने प्रयास गरिरहेका छन् ।।

