२०८२ फाल्गुन १ गते शुक्रवार

अर्थतन्त्र सुधार्न वन उद्यममा जोडिनुपर्नेमा जोड

तुलसीपुर, १३ असार । सामुदायिक वनमार्फत उद्यममा लागेर नेपालको अर्थतन्त्र सुधार गर्न सकिने सामुदायिक वन महासंघका पूर्वअध्यक्ष तथा गी्रन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेले बताउनु भएको छ । तुलसीपुरमा वनका अधिकार तथा कृषि वन उद्यमसम्बन्धी अभिमुखीकरण कार्यक्रमको समापनको अवसरमा उहाँले यस्तो बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पाण्डेले नेपालको उत्पादनमा आत्मनिर्भर हुुन नसकेको भन्दै खर्बौँको खाद्यान्न लगायतका सामग्री विदेशबाट आयात गर्नु पर्ने बाध्यता रहेको बताउनुभयो । यो आयातित हुने अवस्थालाई सुधार्न प्लाष्टिकका झोला नभइ अब नेपालमै उत्पादन हुने थाकलका झोला बोक्न आग्रह गर्नु भयो । थाकलका झोला बोक्न थालेपछि स्थानिय उत्पादन स्थानिय स्तरमै खपत हुन थाल्छ र पैसा बाहिर जान नपाएमा नेपालको अर्थतन्त्रमा सुधार हुँदै जानेमा उहाँको जोड थियो ।

उहाँले पछिल्लो समय सामुदायिक वनको अवस्था राम्रो रहेकाले महिलाहरु पनि वनबाटै थुप्रै आयआर्जन गर्न थालेको भन्दै खशी व्यक्त गर्नुभयो । सामुदायिक वनले महिला नेतृत्व र महिला उद्यमी उत्पादन गर्न थालेको भन्दै सकारात्मक पक्ष रहेको बताउनुभयो । नेपालमा ४५ प्रतिशत भन्दा बढी सामुदायिक वनको क्षेत्र रहेकाले यसको सही सदुपयोग गरेर आम्दानी गर्नतर्फ अग्रसर हुन सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ताहरुलाई सुझाव दिनुभयो ।

सो अवसरमा लुम्बिनी प्रदेश वन महासंघका महासचिव शोभाकर सापकोटाले प्राकृतिक रुपमा बनेका सामुदायिक साना वनलाई मर्ज गर्ने कुरा चलिरहेको भन्दै आफूहरुले नमान्ने पक्षमा रहेको जानकारी दिनुभयो । सामुदायिक वनको आम्दानी नरहेको भन्दै सरकारपिच्छे कर तिर्ने कुरामा बारम्बार सरकारसँग समाधानका उपाय खोज्न छलफल गरिरहेको बताउनुभयो । अहिले चुरे क्षेत्र पनि हरियालीमा परिणत हुनु सामुदायिक वन समुहका गतिविधिले भएका कारण सामुदायिक वनहरुलाई उत्पादन सँग जोडेर लैजानुपर्नेमा जोड दिनुभयो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, कार्यपालिका सदस्य रेखा शर्मा, तुलसीपुर उपमहानगरपालिका वडा नंबर ६ का वडा सदस्य देवी पोख्रेल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष ओपेन्द्र बस्नेत लगायतले सामुदायिक वनलाई आम्दानीको स्रोत बनाउनु पर्नेमा जोड दिनुभयो ।

विपत व्यवस्थापन समितिका सदस्य यमुना परियारको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण वन वातावरण तथा हरियाल प्रवद्र्धन शाखाका प्रमुख रमा खड्काले गर्नु भएको थियो । कार्यक्रममा हिजो विहीबार १ देखि १२ वडा र आज शुक्रबार १३ देखि १९ वडामा रहेका सामुदायिक वनका पदाधिकारीलाई सामुदायिक वनका अधिकार तथा कृषि वन उद्यमसम्बन्धी अभिमुखीकरण गरिएको थियो । साथै वनमा पाइने सामग्रीबाट उत्पादन गरिएका ढकिया,पेन होल्डर, थाकलबाट बनेको व्याग, माटोको भाँडा, स्थानिय स्तरमा निर्माण गरिएका चप्पल, फोटो फ्रेम लगायत सामग्रीहरुको प्रदशनी समेत गरिएको थियो । तुलसीपुर उपमहानगरपालिका वन वातावरण तथा हरियाली प्रवद्र्धन शाखाको आयोजनामा कार्यक्रम भएको थियो ।।

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रवार
प्रतिक्रिया