तुलसीपुरमा सृङ्खलाबद्ध अपराधिक घटना, दिनदहाडै एक युवकमाथी नक प्रहार

तुलसीपुर, २९ जेठ ।  दाङको तुलसीपुरमा सृङ्खलाबद्ध रुपमा अपराधिक घटनाहरु बढ्न थालेका छन् । आज मात्रै अपरिचित व्यक्तीको कुटपिटबाट एकजना निर्दोश युवक घाइते भएका छन् । घाइते हुनेमा सल्यानको कपुरकोट गाउँपालिका–३ निवासी १८ बर्षीय प्रेम बुढाथोकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । प्रहरीका अनुसार आज दिउँसो साढे २ बजेको समयमा बुढाथोकीसहित उनका साथी १८ बर्षीय किरण घर्ती तुलसीपुर–५ बसपार्कस्थित ओरालोमा हिडिरहेको अवस्थामा २ जना अपरिचित व्यक्तीहरुले बाटो छेकी पैसा मागेको र नदिएपछी एक्कासी निधारमा नकले हान्दा बुढा गम्भिर घाइते भएका हुन् । घाइते बुढालाई तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी बाँकेको नेपालगञ्ज रिफर गरिएको छ । घटनामा संलग्न तुलसीपुर–७ गैरापातुका १८ बर्षीय शौरव नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । अन्य एकजना फरार रहेको प्रहरीले जनाएको छ ।

यसरी दिनदहाडै व्यस्त बजारमा लुटेराहरुबाट मानिसहरु कुटिन थालेपछी तुलसीपुरमा सुरक्षा चुनौती बढेको महसुस भइरहेको स्थानियहरुले बताएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुर बजार नजिकै रहेपनी अपराधिक कृयाकलापहरु बढ्दै जान थालेको भन्दै नागरिकहरुले चिन्ता व्यक्त गरेका छन । तुलसीपुरमा एउटा घटना सेलाउन नपाउदै अर्को घटनाहरु सिलसिलेबार रुपमा भइरहेका छन् । प्रहरी प्रशासनले यसतर्फ कुनै चासो नदिएको स्थानियको भनाई छ । यसले गर्दा तुलसीपुरमा प्रहरीको सक्रियतामा पनी नागरिकले प्रश्न उठाउन थालेका छन् । तुलसीपुरमा खुकुरी प्रहार, रड प्रहार, लुटपाट, कुटपिट, चोरी डकैतीदेखी मानिसको हत्यासम्मका घटनाहरु भइरहेका छन् । तर, प्रहरी प्रशासन भने यसतर्फ मौन देखिएको नागरिकको गुनासो छ । यसमा प्रहरीले गम्भिर रुपमा ध्यान दिएर यस्ता घटनामा संलग्नलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने र तुलसीपुरमा व्यवस्थित तरिकाले प्रहरी परिचालन गरी आफुहरुको सुरक्षीत रुपमा बाच्न पाउने अधिकार सुनिश्ति गर्नुपर्नेमा नागरिकको जोड छ ।।

प्रकाशित मिति : २०८२ जेष्ठ ३० गते बिहिवार
प्रतिक्रिया