
दाङको लमही नगरपालिका–९, अमिलियास्थित पूर्व–पश्चिम राजमार्गमा ठक्कर दिएर भागेका एक व्यक्ति यार्सागुम्बा लगायत वन पैदावारसहित पक्राउ परेका छन्।पश्चिमबाट पूर्वतर्फ गइरहेको लु ५४ प ७८२७ नम्बरको मोटरसाइकलले एक पैदलयात्रीलाई ठक्कर दिई घाइते बनाएको सूचना पाएलगत्तै प्रहरीले मोटरसाइकल चालक ४८ वर्षीय शिवचन्द्र बुढालाई पक्राउ गरेको हो। शिवचन्द्र जुम्लाको सिंजा गाउँपालिका–४ स्थायी घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा बसोबास गर्दै आएकाे प्रहीले जनाएकाे छ ।
दुर्घटनापछि पक्राउ पर्ने डरले लमही नगरपालिका–९, अमिलियाकी रिता चौधरीको घरमा जानकारी नदिई झोला लुकाएकाे प्रहरीले बताएकाे छ । प्रहरीले झोला फेला पारी जाँच गर्दा यार्सागुम्बा ४९५ ग्राम, कस्तुरीको विना जस्तो देखिने पहेलो ढक्कन भएको डिब्बामा ४० थान, हरियो ढक्कन भएको डिब्बामा ४० थान, रातो ढक्कन भएको डिब्बामा १८ थान र स-साना धुलोका कणहरू बरामद गरेकाे छ । पक्राउ परेका शिवचन्द्र बुढालाई बरामद वन पैदावारसहित आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, लमहीमा बुझाइएको प्रहरीले जनाएको छ।