तुलसीपुरमा लामखुट्टे खोजौं र नष्ट गरौं अभियानको तयारी

तुलसीपुर,२५ जेष्ठ । वर्षा याम सुरु भएसँगै डेंगु सक्रमणको जोखिम वढ्ने भएकाले यसको न्युनिकरणका लागी तुलसीपुर उपमहानगरपालिकाले सचेतना कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । डेंगी लगाएत किटजन्य रोगहरु रोकथाम तथा नियन्त्रणका लागी आज तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा सरोकारवालासँग अभिमुखीकरण गरिएको छ । लामखुट्टेको वासस्थान पहिचान गरी लार्भा खोजौं र नष्ट गरौं, डेंगु रोग विरुद्ध जागौं सवै लागौं भन्ने नारासहित अभियानको रुपमा पालिका स्तरिय सचेतना कार्य सुरु गर्ने तयारी गरिएको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओमपी न्यौपानेले वताउनभयो ।

सो अवसरमा वोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि टिकाराम खड्काले डेंगु सक्रमण न्युनिकरणका लागी सरसफाई ध्यान दिनुपर्ने र हरेक वस्ती र घरघरसम्म पुगेर सचेतनाका कार्यक्रम मार्फत नागरिकलाई जानकारी दिने तयारीमा आफु लागेको वताउनुभयो । यस्तै स्वास्थ्य अधिकृत शिव प्रसाद तिवारीले डेंगु संक्रमणवाट सुरक्षित रहन लामखुट्टेको टोकाईवाट वच्ने र यसको वृद्धि राक्ने नै प्रमुख उपाय भएको वताउनुभयो । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेमा डेंगु संक्रमण हुने भएकाले यसको पहिचान र वासस्थान नष्ट गर्नु पर्ने उहाँले वताउनुभयो । विशेष गरी एडिस एजिप्टाई जातको पोथी लामखुट्टे दिउँसो र उज्यालो समयमा सक्रिय रहने,सफा पानीमा वस्ने गर्दछ भने सेतो र कालो धब्बा भएको हुनाले यसलाई ‘टाईगर अथवा व्युटी’ लामखुट्टे पनि भन्ने गरिन्छ ।

पछिल्लो समय डेंगु सक्रमित विरामीको संख्या बढ्दो देखिरहेका वेला मृत्यु हुनेकोे संख्या पनि वढ्दो नै रहेको छ । गत वर्ष देशभर ४१ हजार ८ सय ६५ जनामा डेंगु संक्रमण हँुदा १५ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ । यस्तै गत वर्ष दाङमा ५३० जना डेंगुवाट संक्रमित हँुदा तुलसीपुरमा मात्रै ६९ जना संक्रमित भएका थिए । तथ्याङकीय हिसावमा यति देखिए पनि जनस्वास्थ्य प्रवद्र्धन शाखाको तथ्यांकमा अभिलेख हुन छुटेका संक्रमित धेरै रहेको शाखा प्रमुख न्यौपानेले वताउनुभयो ।

यस्तै लामखुट्टेको टोकाईबाट बच्न सुत्दा झुलको प्रयोग गर्नुपर्ने, लामो वाहुला भएको कपडा लगाउनुपर्ने, घर वरपरकोे वातावरण सफा राख्नुपर्ने, फुलदानी, कुलर, गाडीका टायर, जथाभावी फालिएका भाँडावर्तन आदीमा पानी जम्न नदिने लगाएतका काम गरे लामखुट्टेको वृद्धिमा नियन्त्रण गर्न सकिने भएकाले सवैले यस ध्यान दिन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । यस्तै डेंगु संक्रमणको कुनै उपचार नभएकाले यसको लक्षणको आधारमा डाक्टरहरुको सल्लाह विना जथाभावी औषधीहरु सेवन नगर्न पनि आग्रह गरेका छन् । दुखाइ कम गर्नका लागी भन्दै मेडिकलबाट आफुखुशी औषधीको सेवन गर्नाले शरीरमा रगतको मात्रालाई पातलो बनाई आन्तरि तथा वाह्य रक्तश्राव भइ विरामीको मृत्यु समेत हुनेभएकाले सवै सजग हुनुपर्ने समेत स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । सामाजिक विकास समितिका संयोजक मान वहादुर रावतको अध्यक्षतामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला निकाय, जनप्रतिनिधि, पत्रकार, कर्मचारी लगाएतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ २६ गते आइतवार
प्रतिक्रिया